काठमाण्डौ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका छन्। परिषद्को शनिबार आयोजित ३० र ३१ औँ वार्षिक साधारणसभा तथा आइतबार विहान सम्पन्न निर्वाचनमा डङ्गोलले अर्का उम्मेदवार प्रश्रय राजभण्डारीलाई पराजित गर्दै विजयी भएको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए।
अध्यक्ष डङ्गोलले ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी राजभण्डारीले ३६५ मत प्राप्त गरे। यस्तै, प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्धितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका छन्।
यस्तै, महासचिवमा पशुपति कँडेल ७२० मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरे। यसैगरी, सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी भएको निर्वाचन अधिकृत पङ्गेनीले बताए। यस्तै, सदस्यमा सुरेन्द्र डङ्गोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईँ र चन्द्रा तामाङ विजयी भएका छन्।
आगामी दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा कुल एक हजार ३०९ मतदाता रहेको परिषद्को निर्वाचनमा एक हजार २२५ मत खसेको थियो। निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष डङ्गोलले सुरक्षित र व्यवस्थित ठमेल निर्माणमा आफ्नो ध्यान केन्द्रीत हुने बताए।
उनले पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटक केन्द्र ठमेललाई प्रविधिसँग जोडेर अगाडि बढ्ने बताए।
अर्थ चाैतारी ।