काठमाण्डौ । काठमाण्डौ र धादिङ जोड्ने राष्ट्रिय गौरवको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको अन्तिम चरण पूरा भई आगामी साउनभित्रै सञ्चालनमा आउने तयारी गरिएको छ। नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक कोशेढुंगा मानिएको यस सुरुङमार्गलाई आधुनिक ‘टोल’ प्रणालीमार्फत सञ्चालन गर्ने गृहकार्य अघि बढाइएको हो।
यसै सिलसिलामा नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले वाणिज्य बैंकहरूलाई आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) चिपमा आधारित प्रिपेड ट्याग वा कार्ड जारी गर्न अनुमति दिइसकेको छ। नेपालको यातायात र वित्तीय क्षेत्रका लागि यो बिलकुलै नयाँ र अत्याधुनिक अभ्यास हो, जसले मुलुकको सडक सञ्जाललाई प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
सुरुङमार्ग प्रयोग गरेबापत लाग्ने दस्तुर सङ्कलनका लागि नगद र डिजिटल सँगसँगै पूर्ण अटोमेसन प्रणाली लागू गर्ने तयारी गरिएको छ। छिमेकी मुलुक भारतमा सफलतापूर्वक सञ्चालनमा रहेको ‘फास्ट ट्याग’ जस्तै प्रविधि नेपालमा पहिलोपटक भित्र्याउन सुरुङमार्गका टोल गेटहरूमा आरएफआईडी प्रणाली जडान गरिसकिएको छ। यस प्रविधिअनुसार सवारीसाधनको अगाडिको सिसा (विन्डस्क्रिन) मा एउटा सानो आरएफआईडी ट्याग टाँसिनेछ, जुन सवारीधनीको प्रिपेड बैंक खातासँग आबद्ध हुन्छ। सवारीसाधन टोल गेट नन्तर पुग्नासाथ त्यहाँ जडान गरिएका सेन्सर र क्यामेराले उक्त चिपलाई स्वचालित रूपमा पहिचान गरी खाताबाट तोकिएको शुल्क कटौती गर्नेछन् र गेट स्वतः खुल्नेछ, जसले गर्दा सवारीसाधनहरू विनाअवरोध आवतजावत गर्न सक्नेछन्।
भौतिक संरचनातर्फ यस आयोजनाअन्तर्गत दुईवटा समानान्तर सुरुङहरू निर्माण गरिएका छन्। सवारीसाधन ओहोरदोहोर गर्न २ हजार ६ सय ८८ मिटर लामो तथा कुल ९.५ मिटर चौडाइ भएको तीन लेनको मुख्य सुरुङमार्ग निर्माण गरिएको छ, जसमा काठमाण्डौ भित्रिनेतर्फ दुई लेन (३.५–३.5 मिटर) र बाहिरिनेतर्फ एक लेन (२.५ मिटर) छुट्याइएको छ।
मुख्य सुरुङमार्गमा हुनसक्ने सम्भावित दुर्घटना वा प्राविधिक गडबडीमा यात्रुहरूको तत्काल उद्धार गर्नका लागि २० मिटरको दूरीमा देब्रेतर्फ २ हजार ५ सय ५७ मिटर लामो, साढे चार मिटर चौडाइ र ५ मिटर उचाइ भएको सहायक आपत्कालीन सुरुङ (इभाकुएसन टनेल) निर्माण गरिएको छ। यी दुई सुरुङलाई जोड्न प्रत्येक ३ सयदेखि ३ सय ५० मिटरको फरकमा ७ वटा क्रस प्यासेज (इन्ट्री गेट) हरू बनाइनुका साथै सुरुङभित्र अत्याधुनिक सिसिक्यामेरा, फ्यान, फायर हाइड्रेन्ट र अलार्म जस्ता सुरक्षाका सम्पूर्ण प्रबन्ध मिलाइएको छ।
सुरुङमार्गको सुरक्षित सञ्चालन र संवेदनशीलतालाई मध्यनजर गर्दै विशेष निर्देशिकामार्फत निश्चित सवारीसाधन र सामग्रीको प्रवेशमा पूर्ण बन्देज लगाइएको छ। निर्देशिकाअनुसार सुरुङभित्र पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र इन्जिन नभएका (नन-मोटराइज्ड) सवारीसाधन गुड्न पाउने छैनन्। त्यस्तै, १८ मिटरभन्दा बढी लम्बाइ, २.५ मिटरभन्दा बढी चौडाइ, ४.७५ मिटरभन्दा बढी उचाइ भएका तथा तोकिएको भारवहन क्षमताभन्दा बढी तौल भएका ठूला सवारीसाधनलाई पनि निषेध गरिएको छ।
सुरक्षा जोखिमलाई न्यून गर्न मट्टितेल, डिजेल, पेट्रोल, ग्यास जस्ता प्रज्वलनशील पदार्थ, विस्फोटक सामग्री, सुरक्षा निकायबाहेकका हातहतियार, स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा दुर्गन्धित वस्तु बोकेका सवारीसाधनलाई समेत सुरुङभित्र प्रवेश नदिइने गरी कडा सुरक्षा मापदण्ड तय गरिएको छ।
अर्थ चाैतारी ।