काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्ने बैंकिङ क्षेत्रकै पहिलो संस्था बनेको छ। बैंकले नयाँ आर्थिक वर्ष सुरु भएको दोस्रो दिनमै गत आव २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको हो।
सार्वजनिक विवरणअनुसार बैंकले ८९ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ६६ करोड ९७ लाख रुपैयाँको तुलनामा ३३.५१ प्रतिशतले बढी हो। नाफामा आएको उच्च सुधारसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) समेत १९.०८ रुपैयाँबाट वृद्धि भई २२.७५ रुपैयाँ पुगेको छ।
सुस्त आर्थिक गतिविधि र उच्च तरलताका बीच कर्जाको मागमा आएको कमी जस्ता चुनौतीपूर्ण परिस्थितिका बाबजुद बैंकले उत्साहजनक लाभांश क्षमता प्रदर्शन गरेको छ। बैंकको कुल सञ्चित नाफा ६० करोड ११ लाख रुपैयाँ पुगेको छ, जसका आधारमा सेयरधनीहरूलाई १५.१६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बैंकले कायम गरेको छ। बैंकिङ क्षेत्रमा बढ्दो गुणस्तरीय जनशक्तिको अभाव, निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिको वृद्धि तथा सञ्चालन खर्चमा भएको बढोत्तरीका माझ पनि बैंकले व्यावसायिक सन्तुलन कायम राख्दै यो नतिजा निकालेको हो।
समीक्षा वर्षमा बैंकको नाफा बढ्नुमा ब्याज खर्चमा आएको भारी गिरावट मुख्य कारक देखिएको छ। बैंकले वर्षभरिमा २ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस अवधिमा ५ अर्ब १९ करोड रुपैयाँ ब्याज आम्दानी गरी २ अर्ब ७८ करोड रुपैयाँ ब्याज खर्च गरेको बैंकको ब्याजदर अन्तर (स्प्रेड दर) ४.२७ बाट घटेर ३.९८ प्रतिशतमा सीमित भए तापनि खुद ब्याज आम्दानी भने पोहोरको तुलनामा १० करोड रुपैयाँले बढेको छ। यसका साथै सम्भावित नोक्सानी व्यवस्था (प्रोभिजन) का लागि अघिल्लो वर्ष ४१ करोड ८१ लाख रुपैयाँ छुट्याएकोमा यस वर्ष १३ करोड ६५ लाख रुपैयाँ मात्र प्रोभिजन गर्दा सञ्चालन मुनाफा १ अर्ब ४ करोडबाट बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
विवरणअनुसार बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात भने ३.४९ प्रतिशतबाट सामान्य बढेर ३.७७ प्रतिशत पुगेको छ। यद्यपि, पर्याप्त नोक्सानी व्यवस्थाका कारण खुद निष्क्रिय कर्जा जम्मा ०.५५ प्रतिशतमा सीमित छ। असार मसान्तसम्म बैंकको पुँजी कोष अनुपात १२.५८ बाट सुधारिएर १४.१६ प्रतिशत र प्राथमिक पुँजी अनुपात ११.६६ प्रतिशतको सबल स्थितिमा पुगेको छ। कोषको लागत ५.०९ बाट घटेर ३.६९ प्रतिशत तथा आधार दर (बेस रेट) ७.०७ बाट ५.५३ प्रतिशतमा झरेकाले चालू आर्थिक वर्षमा बैंकलाई थप कर्जा विस्तार गर्न सहज मार्ग प्रशस्त भएको देखिन्छ।
मुलुकको सेयर बजारमा बलियो वित्तीय सूचकसहित प्रस्तुत भएको कामना सेवाको कुल निक्षेप ६२ अर्ब ८३ करोडबाट बढेर ६६ अर्ब १७ करोड र कर्जा लगानी ५०…७ करोडबाट बढेर ५४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। बोनस सेयर र ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्कासनपछि बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ भने जगेडा कोष २ अर्ब १४ करोड पुगेको छ।
हाल धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४७४ रुपैयाँमा कारोबार भइरहेको बैंकको प्रतिसेयर नेटवर्थ १७१.०१ रुपैयाँ र पीई रेसियो २०.८४ रहेको छ। वित्तीय विवरणअनुसार बैंकले आगामी दिनमा नयाँ व्यावसायिक अवसरको खोजी गर्ने, कर्जा असुलीलाई प्रभावकारी बनाउने र जोखिम व्यवस्थापनमा कडाइ गर्ने रणनीति अख्तियार गरेको छ।
अर्थ चाैतारी ।