logo

२०८३ साउन ४, सोमबार

logo
  • २०८३ साउन ४, सोमबार
  • विश्वकप फाइनल खेलाउने जिम्मेवारी स्लोभेनियाका भिन्चिचलाई, स्पेन र अर्जेन्टिनासँगको संयोग रोचक

    विश्वकप फाइनल खेलाउने जिम्मेवारी स्लोभेनियाका भिन्चिचलाई, स्पेन र अर्जेन्टिनासँगको संयोग रोचक

    832
    SHARES
    विश्वकप फाइनल खेलाउने जिम्मेवारी स्लोभेनियाका भिन्चिचलाई, स्पेन र अर्जेन्टिनासँगको संयोग रोचक

    काठमाण्डौ । फिफा विश्वकप २०२६ को नयाँ विश्वविजेताको टुंगो लगाउने अन्तिम महाभिडन्तमा रेफ्रीको कमान्ड सम्हाल्ने जिम्मेवारी स्लोभेनियाका अनुभवी रेफ्री स्लाभ्को भिन्चिचले पाएका छन्। स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्तको मुख्य रेफ्री तोकिएसँगै ४६ वर्षीय भिन्चिच विश्वकपको फाइनल सञ्चालन गर्ने स्लोभेनियाका पहिलो रेफ्री बन्नेछन्। सन् १९७९ मा स्लोभेनियाको मारिबोरमा जन्मिएका उनले सन् २००७ देखि आफ्नो घरेलु शीर्ष डिभिजनबाट व्यावसायिक रेफ्रीङ करियरको सुरुवात गरेका थिए भने सन् २०१० देखि उनी फिफाको अन्तर्राष्ट्रिय रेफ्रीको सूचीमा रहँदै आएका छन्।

    मैदानमा कडा अनुशासन र स्पष्ट निर्णयका लागि चिनिने भिन्चिचसँग युरोपेली फुटबलका ठूला प्रतियोगिताहरू सञ्चालन गरेको व्यापक अनुभव छ। उनले यसअघि सन् २०२२ को युरोपा लिग फाइनल (फ्रैंकफर्ट र रेंजर्स) तथा सन् २०२४ को चर्चित यूईएफए च्याम्पियन्स लिग फाइनल (रियल म्याड्रिड र बोरुसिया डोर्टमन्ड) सफलतापूर्वक खेलाइसकेका छन्। यूईएफए च्याम्पियन्स लिग र युरोपा लिगमा मात्रै ७२ भन्दा बढी म्याच सञ्चालन गरिसकेका भिन्चिचले आफ्नो करियरमा करिब ५ सयभन्दा बढी खेलको नेतृत्व गरिसकेका छन्, जसमा उनको औसत प्रतिम्याच ४.१३ पहेँलो कार्ड र ०.१० रातो कार्ड रहेको छ।

    जारी विश्वकप २०२६ मा भने भिन्चिचको कार्ड देखाउने शैली अपेक्षाकृत केही लचिलो र शान्त देखिएको छ। यस प्रतियोगितामा उनले खेलाएका ५ खेलहरूमा औसत ३ वटा मात्रै पहेँलो कार्ड देखाएका छन्। तर, खेलका क्रममा हुने अनुशासनहीनता, जथाभाबी फाउल, रेफ्रीमाथिको असन्तुष्टि (डिसेन्ट) र समय बर्बादी (टाइमवेस्टिङ) मा उनी निकै निर्मम मानिन्छन्। यसै विश्वकपका दौरान इक्वेडरका खेलाडी पिएरो हिन्कापिएले मुख छोपेर ओठे जवाफ फर्काएपछि भिन्चिचले उनलाई सिधै रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए, जुन यस विश्वकपमा उनले देखाएको पहिलो रातो कार्ड थियो।

    फाइनल खेलको घोषणा भएसँगै मैदानमा उत्रिने दुवै टोली र मुख्य रेफ्री भिन्चिचबीचको विगतको इतिहास र संयोगलाई लिएर खेल जगत्मा नयाँ चर्चा सुरु भएको छ। भिन्चिचको नेतृत्वमा स्पेन र अर्जेन्टिनाको नतिजा बिलकुलै विपरीत र अचम्मको छ। उनको रेफ्रीङमा स्पेनले खेलेका चारवटै खेलमा जित हात पारेको छ अर्थात् स्पेनले उनी मुख्य रेफ्री हुँदा कहिल्यै हार बहोर्नुपरेको छैन, यद्यपि ती सबै जित युरो कपमा मात्र सीमित थिए। अर्कोतर्फ, साविक विजेता अर्जेन्टिनाका लागि भने भिन्चिच भाग्यमानी सावित भएका छैनन्। सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ ले स्तब्ध बनेको खेलमा उनै भिन्चिच मुख्य रेफ्री थिए, जसका कारण अर्जेन्टिनी क्याम्प यसपटक थप सतर्क देखिन्छ।

    ऐतिहासिक फाइनल खेललाई निष्पक्ष र विवादरहित बनाउन भिन्चिचलाई मैदानमा बलियो टोलीले साथ दिनेछ। खेल सञ्चालनका लागि सहायक रेफ्रीहरू (लाइन्सम्यान) तोमाज क्लान्चनिक र आन्द्राज कोभासिच पनि स्लोभेनियाकै रहेका छन् भने फोर्थ अफिसियलको भूमिका जोर्डनका अधाम मखाद्मेलाई सुम्पिएको छ। त्यसैगरी, खेलका प्राविधिक र सूक्ष्म निर्णयहरूमा सघाउनका लागि भिडियो असिस्टेन्ट रेफ्री (VAR) को कमान्ड जर्मनीका बास्टियन डान्कर्टले सम्हाल्ने फिफाले जनाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, ३ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट