काठमाण्डौ । अबदेखि बैंक खातामा पर्याप्त रकम नभएसम्म दोस्रो बजार (secondary market) बाट शेयर खरिद गर्न नपाइने भएको छ। नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमअनुसार खरिदकर्ताको बैंक खातामा रकम भएमात्र सेयर खरिदको कारोबार मान्य हुने व्यवस्था अघि बढाइनेछ।
बोर्डले दोस्रो बजारमा पारदर्शिता र वित्तीय अनुशासन कायम राख्न उक्त प्रणाली लागू गर्न लागेको जनाएको छ। अबको प्रणालीले सेयर खरिदकर्ताको बैंक खातामा रकम छ कि छैन भन्ने तत्कालै प्रणालीमार्फत पुष्टि गरेर मात्रै कारोबार सम्पन्न गर्न सकिनेछ।
त्यसैगरी, अबदेखि आईपीओ (प्राथमिक शेयर निष्कासन) मा आवेदन दिँदा तत्कालै भेरिफिकेसन हुने व्यवस्था समेत गरिने भएको छ। धितोपत्रको निष्कासनका लागि ASBA प्रणाली प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थाले CDSC बाट API लिई आवेदकको आवेदन भेरिफाइ गर्नेछन्। सोही आधारमा आवेदन रकम रोक्का भई बाँडफाँटपछि स्वतः फुकुवा हुने व्यवस्था हुनेछ।
बोर्डले गैरआवासीय नेपाली (NRN) का लागि पनि धितोपत्र कारोबार सहज बनाउने नीति अघि सारेको छ। अब गैरआवासीय नेपाली नागरिकता भएको व्यक्तिले सरल प्रक्रिया अपनाएर नेपाली पूँजीबजारमा कारोबार गर्न सक्नेछन्।
धितोपत्र बोर्डले प्रस्तुत गरेको नयाँ नीति तथा कार्यक्रमले नेपाली पूँजी बजारमा पारदर्शिता, स्वचालन, र पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
अर्थ चाैतारी ।