काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ। शुक्रबार स्पट गोल्ड १.५ प्रतिशतले घटेर प्रति औन्स ४ हजार ६३ डलरमा पुगेको छ। यस साता मात्र सुनको मूल्य ४.३ प्रतिशतले घटेको छ, जुन नोभेम्बर २०२४ यताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक ३ गतेदेखि सार्वजनिक बिदा भएकाले नेपालमा सुनको नयाँ मूल्य तोकिएको छैन। सो समयमा सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँ कायम थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको ठूलो गिरावटका कारण नेपालमा आइतबारदेखि सुनको मूल्य करिब १५ देखि १८ हजार रुपैयाँसम्म घट्ने अनुमान गरिएको छ।
विश्लेषकहरूले सुनको मूल्य घट्नका तीन कारण देखाएका छन् — अमेरिकी डलर बलियो हुनु, अमेरिका–चीनबीचको व्यापारिक तनाव घट्ने संकेत, र लगानीकर्ताले उच्च मूल्यमा मुनाफा सुरक्षित गर्न सुरु गर्नु।
गत दुई महिनाभित्र सुनको मूल्य २५ प्रतिशतले बढेको भए पनि हाल देखिएको गिरावटलाई ‘ढिलो आएको तर आवश्यक सुधार’ का रूपमा व्याख्या गरिएको छ।
सुनसँगै अन्य बहुमूल्य धातुहरूको मूल्य पनि घटेको छ। विश्व बजारमा सरकारी ऋण नियन्त्रण, ब्याजदर वृद्धिको अपेक्षा र लगानीकर्ताको सावधानीले सुनको माग घटेको बताइएको छ।