काठमाण्डौ । ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषले आफ्ना इकाइहरु आजदेखि सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि बिक्रीमा ल्याएको छ। यसको कोष प्रवर्द्धकमा जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छ भने योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड छ।
नेपाल धितोपत्र बोर्डले गत पुस १३ गते प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाइमध्ये बीज पुँजीबापत १५ प्रतिशत इकाइ, जसमध्ये १४ प्रतिशत अर्थात् २ करोड २४ लाख इकाइ कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा १ प्रतिशत अर्थात् १६ लाख इकाइ योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको कुल १३ करोड ६० लाख इकाइ सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागिएको हो।
उक्त फन्डको न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड ६० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था छ। नेपाल लाइफ म्युचुअल फन्डअन्तर्गतको यो पहिलो बन्दमुखी योजना हो। यसको अवधि इकाइ बाँडफाँट भएको मितिले १० वर्ष रहेको छ। फन्डको इकाइमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ।
उक्त योजनाको इकाइमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सीडीएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
बिक्री खुल्ला भएको म्युचुअल फन्ड निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कोष प्रवद्र्घकलाई आईसीआरएएनपी–आईआर एए– र योजना व्यवस्थापकलाई आईसीआरएएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ।
अर्थ चाैतारी ।