logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • कार्यसम्पादनमा कास्कीको माछापुच्छ्रे उत्कृष्ट, लगातार दोस्रो पटक प्रथम

    कार्यसम्पादनमा कास्कीको माछापुच्छ्रे उत्कृष्ट, लगातार दोस्रो पटक प्रथम

    468
    SHARES
    कार्यसम्पादनमा कास्कीको माछापुच्छ्रे उत्कृष्ट, लगातार दोस्रो पटक प्रथम

    पोखरा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा कास्कीको माछापुच्छ्रे गाउँपालिका जिल्लामै उत्कृष्ट भएको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ७०.०८ अंक प्राप्त गर्दै माछापुच्छ्रे गाउँपालिका जिल्लामा पहिलो भएको हो ।



    यो पालिका गत वर्ष पनि पहिलो भएको थियो । आयोगको तथ्याङ्क अनुसार अन्नपूर्ण गाउँपालिका ६९.५६ अंकसहित दोस्रो स्थानमा देखिएको छ भने रुपा गाउँपालिकाले ६३.४५ अंक प्राप्त गरेको छ । पोखरा महानगरपालिकाले ५८.७६ अंक प्राप्त गरेको छ भने मादी गाउँपालिकाले ४८.३२ अंक हासिल गरेको आयोगले जनाएको छ ।

    आयोगले स्थानीय तहको मूल्यांकनका लागि कुल १७ वटा सूचक तय गरेको छ । असार १० भित्र बजेट सार्वजनिक र असार मसान्तभित्र बजेट पास गरे-नगरेको, घरजग्गा रजिस्ट्रेसन, मनोरञ्जन तथा विज्ञापन करबाट उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे-नगरेको, आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण र विवरण अर्थ मन्त्रालयमा बुझाएको अवस्था, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे-नगरेको लगायत विषयलाई हेरेर मूल्याङ्कन गर्ने गरिन्छ ।

    यस्तै, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु फर्स्योट, सूत्र सफ्टवेयरको प्रयोग, विद्यार्थी भर्ना तथा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, एसईई नतिजा, गर्भवती जाँच र बालबालिकाको पूर्ण खोपजस्ता शिक्षा र स्वास्थ्यका सूचकहरूलाई पनि आधार मानिएको छ । वित्त आयोगले गरेको यही कार्यसम्पादन मूल्यांकनका अंकका आधारमा संघीय सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने गर्दछ ।

    स्थानीय तहहरूलाई नतिजामुखी काम गर्न प्रोत्साहित गर्ने र उनीहरूको वित्तीय सबलीकरणमा प्रतिस्पर्धी बनाउन हरेक वर्ष यो नतिजा सार्वजनिक गर्ने गरिएको छ । पालिकाले प्राप्त गरेको नतिजासँगै आगामी वर्ष बजेट पनि बढेर आउने प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिए । ‘लगातार पहिलो हुनु हाम्रो लागि मात्रै होइन, समग्र पालिकाबासीका लागि पनि गर्वको विषय हो,’ उनले भने, ‘यसलाई कायम राख्ने जोडवल हामी गर्नेछौं ।’


    अर्थ चाैतारी
  • शुक्रबार, १ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट