logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ओली र लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण : दंगाल

    ओली र लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण : दंगाल

    351
    SHARES
    ओली र लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण : दंगाल

    काठमाण्डौ । नेकपा (एमाले) का राष्ट्रिय सभा सदस्य प्रेमकुमार दंगालले नवगठित सरकारको पहिलो निर्णय नै राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले फागुन २१ को निर्वाचनबाट बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका बालेन्द्र साहलाई बधाई दिँदै सरकारको कामलाई गुण र दोषका आधारमा मात्र समर्थन वा विरोध गर्ने स्पष्ट पारेका हुन् ।



    दंगालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई मध्यरातमा आतङ्ककारीलाई जस्तो गरी गिरफ्तार गरिएको भन्दै सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएका छन् । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिका सम्बन्धमा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई दंगालले ‘मिथ्याङ्क र पूर्वाग्रहमा आधारित’ भन्दै खारेजीको माग गरेका छन् ।

    आयोगका अध्यक्ष कार्कीले आयोग गठन हुनुपूर्व नै सामाजिक सञ्जालमा व्यक्त गरेका धारणालाई पुष्टि गर्ने गरी मात्र प्रतिवेदन तयार पारिएको उनले दाबी गरे । उनले एमाले अध्यक्ष ओली र नेता लेखकको बिना शर्त तत्काल रिहाइ गर्न, पूर्वाग्रही कार्की आयोगको प्रतिवेदन अविलम्ब खारेज गर्न र मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णय फिर्ता लिन सरकारसँग जोड्दार माग गरेका छन् ।

    दंगालले दुई पटक मिर्गौला प्रत्यारोपण गरेका र वृद्ध अवस्थामा रहेका व्यक्तित्वलाई बुवाको काजक्रिया सकिन नपाउँदै अपमानजनक ढङ्गले गिरफ्तार गरिनु निर्दयी र आपराधिक मनोवृत्ति भएको टिप्पणी गरे । उनले सरकारको दमनकारी नीतिको विरोध गर्दै सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन् । साथै, गलत प्रतिवेदन ल्याउने आयोगका अध्यक्ष र सदस्यहरूमाथि नै छानबिन गरी कारबाही गर्नुपर्ने उनको माग छ ।

    देशभर एमाले कार्यकर्तामाथि भइरहेको प्रहरी हस्तक्षेप र सुर्खेतस्थित पार्टी कार्यालयमा भएको आक्रमणको समेत दंगालले कडा शब्दमा भर्त्सना गरेका छन् । सरकारले लोकतान्त्रिक मूल्य मान्यता विपरीत दमनको बाटो रोजेको भन्दै उनले यस्ता गतिविधि तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

    उनले सरकारलाई जनमतको कदर गर्दै कानुनी राज्यको उपहास नगर्न र राजनीतिक पूर्वाग्रह त्याग्न समेत आग्रह गरेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, १९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट