काठमाण्डौ । बुधबार भएको निर्वाचन प्रक्रियामार्फत नेकपा (एमाले) को संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन् । निर्वाचनको परिणाम सार्वजनिक भएपछि प्रतिस्पर्धी रहेका सांसद सुहाङ नेम्वाङले बिहीबार सामाजिक सञ्जालमार्फत बादललाई बधाई दिँदै आफ्नो उम्मेदवारी पदका लागि नभई पार्टीभित्र नयाँ आशा र गति पैदा गर्नका लागि भएको स्पष्ट पारेका छन् ।
सुहाङले ७६ वर्षे कम्युनिस्ट इतिहासकै कठिन मोडमा पार्टी उभिएको उल्लेख गर्दै अब नियमित कर्मकाण्डी अभ्यासले मात्रै आन्दोलनलाई पुनर्जीवन दिन नसकिने बताएका छन् । उनले नेपाली राजनीतिमा भएको ‘प्याराडाइम सिफ्ट’ लाई सम्बोधन गर्न पार्टीको विचार, संगठनात्मक अभ्यास र कार्यशैलीमा आमूल परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् ।
युवाहरूको ऊर्जा र अग्रजहरूको अनुभवको फ्युजन नै पार्टी निर्माणको आधार भएको उनको तर्क छ । आफ्नो उम्मेदवारीलाई लिएर आएका ‘हतारो भयो’ भन्ने टिप्पणीहरूको जवाफ दिँदै सुहाङले अहिलेको असाधारण संकट र चौतर्फी घेराबन्दीका बिच साधारण अभ्यासले समस्याको निरूपण नहुने उल्लेख गरेका छन् ।
उनले आफूलाई ‘मैनबत्ती बनेर जल्न’ र ‘कालकूट विष पिउन’ तयार रहेको भन्दै पार्टीभित्रको निराशा चिर्नका लागि यो कदम चालेको बताएका छन् । प्राविधिक रूपमा परिणाम जे जस्तो आए पनि पार्टीलाई जीवन्त राख्न यस्ता प्रयासहरू जारी राख्नुपर्ने उनको दृढता छ ।
सुहाङले आफ्ना समर्थक तथा कार्यकर्ताहरूलाई नेतृत्व र पार्टी विरुद्ध सामाजिक सञ्जालमा आवेगपूर्ण वा नकारात्मक टिप्पणी नगर्न समेत विनम्र अनुरोध गरेका छन् । उनले यो हार नभई पार्टीलाई नयाँ जीवन दिने अभियानको सुरुवात मात्र भएको बताएका छन् । उत्तेजना र आवेगभन्दा पनि विवेक र संयमका साथ अघि बढ्न आग्रह गर्दै उनले आगामी दिनमा पार्टीको हितमा आफ्नो ऊर्जा खर्चिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तो छ सुहाङको भनाई :
प्रिय कमरेडहरू,
अभिवादन !
यहाँहरूलाई थाहा छ, हाम्रो प्रिय पार्टी नेकपा (एमाले) को संसदीय दलको हिजोको बैठकपछि निर्वाचन प्रक्रियामार्फत आदरणीय उपाध्यक्ष कमरेड रामबहादुर थापा ‘बादल’ दलको नेतामा निर्वाचित हुनुभएको छ । उहाँलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको सुखद शुभकामना व्यक्त गर्दछु ।
संसदीय दलको निर्वाचन प्रक्रियाका दौरान मैले आफ्ना स्पष्ट मान्यता र दृष्टिकोणहरू राखिसकेको छु । म आफ्ना विचार र मान्यताहरूलाई पार्टीको सम्बन्धित आन्तरिक कमिटी र विधिभित्रै राख्नुपर्छ भन्नेमा दृढ छु । तर, बैठकपछि सामाजिक सञ्जाल र सार्वजनिक रूपमा अभिव्यक्त प्रतिक्रियाहरूलाई मध्यनजर गर्दै थप प्रस्ट पार्नु म आफ्नो कर्तव्य ठान्दछु ।
आदरणीय अग्रजहरू,
मलाई थाहा छ, ‘पार्टीको मार्गदर्शक सिद्धान्त, सङ्गठनात्मक सिद्धान्त र हाम्रो आन्दोलनले स्थापित गरेका ऐतिहासिक मूल्य–मान्यता र अभ्यास ।’ यी मूल्य र आदर्शहरूप्रति मेरो गहिरो प्रतिबद्धता र निष्ठा रही आएको छ । मैले सधैँ जोड दिँदै आएको छु- ‘अग्रजहरूको अनुभव र ज्ञान एवं युवाहरूको ऊर्जा’ नै पार्टी निर्माणको मुख्य आधार हो ।
यहाँहरूलाई लाग्न सक्छ, ‘यो उम्मेदवारीमा हतारो भयो ।’ तर हामी सबैलाई थाहा छ, ‘हामी अहिले सामान्य अवस्थामा छैनौँ ।’ नेपाली राजनीतिमा ‘प्याराडाइम सिफ्ट’ भएको छ । नयाँ मानक, बिम्ब एवं मूल्यहरू निर्माण भएका छन् । के ती नयाँ मानक, बिम्ब र मूल्यहरू हामीले निर्माण गरेका हौँ ? धेरै लामो समयसम्म बाँचिरहने ती मानक, बिम्ब र मूल्यहरूसँगको हाम्रो आन्दोलनको सम्बन्ध र साइनो कस्तो छ, रहनेछ ?
७६ वर्षे कम्युनिस्ट इतिहासको सबैभन्दा कठिन समयमा हामी उभिएका छौँ । सबथोक भएको हामीसँग अहिले के–के बाँकी छन् ? हाम्रो अगाडि असाधारण सङ्कट छ । हामीमाथि अनेकन प्रश्नहरू छन् । हामी यी प्रश्नहरूबाट भागेर वा प्रश्नहरूलाई पन्छाएर पार्टीलाई नयाँ जीवन दिनै सक्दैनौँ । वर्तमान निराशा र हताशाले हामीलाई पलायनतर्फ लैजाने डरलाग्दो खतरा छ । सामान्य समयमा हिजोको मूल्य, आदर्श र मान्यताका आधारमा नियमित अभ्यास गर्नु स्वाभाविक होला, तर यतिबेला हामी यस्तो असाधारण समयमा छौँ कि हाम्रा साधारण अभ्यासले मात्र समस्याको निरूपण हुनै सक्दैन । चौतर्फी घेराबन्दी, वैचारिक अन्योल र कार्यकर्ता पङ्क्तिमा व्याप्त चरम निराशाका बीच आन्दोलनलाई जीवन दिनु र पार्टीलाई पुनः जागृत गराउनु हामी सबैको साझा जिम्मेवारी हो ।
तसर्थ, हाम्रा अग्रजहरूको दशकौँ लामो कष्टसाध्य सङ्घर्ष, रगत–पसिना र बलिदानबाट निर्मित यो पार्टीको भविष्यप्रति हामी युवाहरू चिन्तित हुनुलाई अग्रजहरूले अन्यथा मान्नुहुन्न भन्ने मेरो गहिरो विश्वास छ । मैले जुन पुस्ताको प्रतिनिधित्व गरिरहेको छु, उहाँहरूको भावना र परिवर्तनको चाहनालाई मैले गहिरो गरी अनुभूत गरेको छु ।
यसै आधारमा भन्न सक्छु-‘हामीले आन्दोलनलाई पुनर्जीवन दिन अब नियमित कर्मकाण्डी सङ्गठनात्मक अभ्यासले मात्र पुग्दैन, जङ्गी परिवर्तन जरुरी छ ।’ हाम्रो विचार, सङ्गठनात्मक अभ्यास, कार्यशैली र मान्यताहरूको आमूल परिवर्तन पहिलो सर्त हो ।
प्रिय साथीहरू,
मेरो उम्मेदवारी कुनै पदको तृष्णा वा व्यक्तिगत महत्त्वाकाङ्क्षा थिएन । बरु, यो पार्टीभित्र नयाँ आशा, उत्साह र गति पैदा गर्ने एउटा प्रयास थियो । म जानकार छु, हाम्रो मनोविज्ञान र गरिआएको अभ्यासका आधारमा मेरो यो कदम व्यक्तिगत रूपमा फाइदाजनक नहोला । मलाई यो पनि बोध छ, ‘बाक्लो अँध्यारो चिरेर उज्यालो ल्याउन कोही न कोही त स्वयम् मैनबत्ती बनेर जल्नैपर्छ ।’ मजस्तै हजारौँ युवाहरूको मनमा सल्किएको चिन्ताको आँधीबेहरी देखेर मैले ‘कालकूट विष’ पिएको हुँ । प्राविधिक परिणाम जे–जस्तो आए पनि पार्टी र आन्दोलनलाई जीवन्त राख्न यस्ता अभ्यासहरू जारी राख्नुपर्छ भन्नेमा म अविचलित छु ।
त्यही बुझाइ र बोधका साथ नयाँ आशा सिर्जना गर्न सकिन्छ भन्ने निचोडसहित मैले दलको नेतामा उम्मेदवारी दिने निधो गरेको थिएँ । प्रयास सफल भएन । अबको समयमा सबैले संयम अपनाएर अग्रजहरूको ‘अनुभव र ज्ञान’ को सम्मान गर्दै युवाहरूले आफ्नो ऊर्जा पार्टीको हितमा खर्चिनुपर्छ । सामाजिक सञ्जालमा एकअर्काप्रति लक्षित नकारात्मक टिप्पणीले हाम्रो साझा प्रयासलाई मात्र कमजोर बनाउँछ । म पुनः विनम्रताका साथ पार्टी, नेतृत्व र नेताहरूका विरुद्ध आवेगपूर्ण टिप्पणी नगरिदिनुहुन अनुरोध गर्दछु ।
मैले हिजो पनि भनेको छु, ‘पार्टीलाई नयाँ जीवन दिने अभियान अन्त्य भएको होइन, सुरु मात्रै भएको हो ।’ मप्रति शुभेच्छा राख्नुहुने आदरणीय अग्रज र प्रिय साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दै उत्तेजना वा आवेगबाट होइन विवेक, संयम र जिम्मेवारीबोधका साथ प्रस्तुत हुन विनम्र अनुरोध गर्दछु ।
सुहाङ नेम्वाङ
अर्थ चाैतारी ।