काठमाण्डौ । प्रधानमन्त्री कार्यालयले भ्रष्टाचारजन्य कार्य नियन्त्रणका लागि अग्रसरता लिएको छ। नयाँ सरकार गठन भएको एक साता नहुँदै मुख्यसचिव सुमनराज अर्यालले भ्रष्टाचारजन्य कार्य नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गर्न सबै मन्त्रालय र निकायका सचिवहरुलाई पत्र लेखेका छन्।
उनले सरकारले सार्वजनिक निकायहरूमा हुने नीतिगत, संस्थागत, प्रक्रियागत लगायत सबै किसिमका भ्रष्टाचारलाई अन्त्य गरी सुशासन प्रवर्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको भन्दै सुशासनको प्रत्याभूति गराउने व्यववस्था गर्न भनेका हुन्।
‘कार्यालय र मातहतका निकायबाट हुने सेवा प्रवाह, विकास व्यवस्थापन र नियमित कार्य सञ्चालनमा चुस्तता, मितव्ययिता, पारदर्शिता, प्रभावकारिता एवम् आचरणगत पक्षमा सुधार गरी मुलुकमा सुशासनको प्रत्याभूति गराउने व्यवस्थाका लागि अनुरोध छ,’ पत्रमा भनिएको छ, ‘यहाँको मन्त्रालय/आयोग/कार्यालय र अन्तर्गतका निकायमा हुन सक्ने मोलमोलाहिजा, भ्रष्टाचार र अनियमिताका घटनाको सूक्ष्म निगरानी राख्ने, छड्के जाँच गर्ने/गराउने र भ्रष्टाचार सम्बन्धी कुनै जानकारी प्राप्त हुने बित्तिकै सम्बन्धित निकायमा लेखी पठाउनुहुन समेत अनुरोध छ।’
मुख्यसचिव अर्यालले सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय/कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने बताएका छन्।
अर्थ चाैतारी ।