काठमाण्डौ । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधि सभाको बैठकमा व्यक्त गरेको विचारलाई लिएर पार्टीभित्र हलचल पैदा भएको छ।
पार्टीका शीर्ष नेताहरूले नै बादलको अभिव्यक्ति एमालेको आधिकारिक नीति, सिद्धान्त र जनताको बहुदलीय जनवाद (जबज) को मर्मविपरीत रहेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका हुन् ।
उपाध्यक्ष विष्णु पौडेलले बादलको सम्बोधनप्रति टिप्पणी गर्दै यसलाई पार्टीको स्थापित मान्यता विरुद्धको कदम भनेका छन्। ‘प्रतिनिधि सभाको आजको बैठकमा दल नेताको हैसियतले मा रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्,’ पौडेलले फेसबुकमा भनेका छन् । उनले यस विषयमा केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय लिइने समेत जानकारी दिएका छन् ।
यसैगरी, उपमहासचिव योगेश भट्टराईले पनि पार्टीको मार्गनिर्देशक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) को व्याख्या गर्दै बादलको विचारको खण्डन गरेका छन् । भट्टराईले एमाले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, शान्तिपूर्ण र वैधानिक बाटोबाट समाजको रूपान्तरण गर्ने र जनमतको सम्मान गर्ने पार्टी भएको स्पष्ट पारेका छन् ।
भट्टराईले भनेका छन्, ‘जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म हो । एमाले आज सरकारको विपक्षी दल भए पनि यो राज्य पक्षीय दल हो ।’
उपमहासचिव भट्टराईले सेना, प्रहरी, न्यायालय र कर्मचारीतन्त्र जस्ता राज्यका अंगहरूप्रति एमालेको कुनै वैरभाव नरहेको र ती निकायप्रति पार्टीको सधैँ सम्मान र विश्वास रहने उल्लेख गरेका छन् । ‘संसद वा सडक, सत्ता पक्ष वा प्रतिपक्ष जुनसुकै भूमिकामा रहे पनि पार्टीको यो धारणा यथावत् रहन्छ,’ उनले थपेका छन् ।
बादलले सम्बोधनका क्रममा नेपाली सेना, कर्मचारीतन्त्र, सुशीला कार्की आयोग, बारबरा फाउन्डेसन, एनजीओ आदि संस्था तथा पात्रहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित हासिल गरेको बताएका थिए ।
अर्थ चाैतारी ।