logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • अर्थमन्त्री भन्छन्– ठुला लगानीकर्तालाई धरपकड गर्ने नीति लिएका छैनौँ

    अर्थमन्त्री भन्छन्– ठुला लगानीकर्तालाई धरपकड गर्ने नीति लिएका छैनौँ

    572
    SHARES
    अर्थमन्त्री भन्छन्– ठुला लगानीकर्तालाई धरपकड गर्ने नीति लिएका छैनौँ

    काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सेयर बजारका ठुला लगानीकर्तालाई धरपकड गर्ने नीति नलिएको स्पष्ट पारेका छन् । सोमबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) सँगको भेटमा व्यवसायीलाई कुनै धरपकड अभियान नचलाएको स्पष्ट पारेका हुन् ।



    उनले सेयर बजारलाई सरकारले स्वच्छ र पारदर्शी बनाउन चाहेको तर बजारमा सेयर बजारमा त्रास फैलाउने काम भइरहेको बताए । सेयर बजारका विषयमा अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पार्ने अर्थमन्त्री वाग्लेको भनाई थियो । स्टक मार्केटबारे बोल्दै उनले बजारमा अफवाह फैलाइएको भन्दै चिन्ता व्यक्त गरे ।

    ‘साना लगानीकर्तालाई आतङ्कित पार्ने काम भएको देखिएको छ, जुन उचित होइन,’ अर्थमन्त्री वाग्लेले भने, ‘सरकारले साना लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य राखेको छैन । सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ ।’

    मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै सरकारले आवश्यक सावधानी अपनाएको उल्लेख गर्दै उनले सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको जानकारी दिए । उनले २५ लाख नेपालीलाई स्वदेश फर्काउने भन्दा पनि समस्या परेका नेपालीलाई प्राथमिकताका साथ उद्धार गर्ने काम भइरहेको बताए ।

    गृह मन्त्रालयका निर्णय कार्यान्वयनबारे स्पष्ट पार्दै वाग्लेले भने, ‘गृह मन्त्रालयबाट भएका निर्णयलाई सोही मन्त्रालयले कार्यान्वयन गरेको हो ।’

    उनले सरकारले अनावश्यक तामझामका साथ कारबाही नगर्ने तर वर्षौँदेखि अनुसन्धान भएर रोकिएका मुद्दाहरूलाई अगाडि बढाइएको स्पष्ट पारे । साथै, नेपाललाई ग्रे लिस्टबाट हटाउन सरकार सक्रिय रहेको जानकारी दिए ।

    राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उनले आगामी जेठ १५ मा आउने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताए ।

    अनलाइन प्रणालीमा देखिएका समस्याहरू तत्काल समाधान गर्न प्रधानमन्त्री कार्यालयले विशेष ध्यान दिइरहेको पनि उनले बताए । सरकारी स्वामित्वका संस्थानहरूको व्यवस्थापनबारे बोल्दै उनले गोरखकाली लगायत केही संस्थाहरूलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको र यसलाई आगामी बजेटमा समेटिने बताए ।

    अर्थमन्त्री वाग्लेले सामाजिक न्यायसहितको अर्थनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रलाई चलायमान बनाउने तर कानुनी तथा नियामक प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्ने बताए ।

    अर्थमन्त्रीले नाफिजलाई आवश्यक सहयोग आगामी बजेटमार्फत उपलब्ध गराइने पनि आश्वासन दिए । अर्थमन्त्री वाग्लेले नाफिजको विकासप्रति सन्तोष व्यक्त गर्दै भने, ‘नाफिज मैले सुन्दा हुर्कँदै थियो, अहिले परिपक्व संस्थाको रूपमा स्थापित भइसकेको छ ।’

    पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्यो/बेच्यो भन्ने ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय रहेको उनले बताए ।

    ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नु पहिलो प्राथमिकता

    अर्थमन्त्री वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरे । उनले ‘ग्रे लिस्ट’ले अन्तर्राष्ट्रिय बदनामी भएकाले प्राथमिकता दिएर तोकिएको समयमै त्यसबाट बाहिर निकाल्न सरकार लागि परेको जानकारी दिए ।

    यसले लगानीको वातावरणमा नकारात्मक असर पार्ने पनि उनले बताए । सम्पत्ति शुद्धीकरणलगायतका वित्तीय अपराधमा वर्षौँदेखि भएका अनुसन्धान अकाट्य प्रमाणका आधारमा अघि बढेका मुद्दाहरूमा आधारित हुने पनि उनले बताए ।

    यदि उद्योग व्यवसायीले ठुलो वित्तीय अपराध गरेका छन् भने पनि तीनलाई ठुलो आर्थिक जरिवाना नै गर्ने उद्देश्य सरकारको रहेको पनि उनले बताए । ‘संस्था वा व्यक्ति छानेर दुःख दिने हाम्रो कुनै नियत छैन । हामी खुलाबजार अर्थनीति मान्छौँ । त्यो भनेको छाडा अर्थतन्त्र होइन,’ उनले भने ।

    अन्य अपराधहरूमा न्याय निरूपणको काम अदालतबाट हुने पनि अर्थमन्त्री वाग्लेले बताए । ‘कसैलाई लक्षित गरेर कारबाही गर्ने होइन, कानुनअनुसार अघि बढाउने मात्र हो,’ उनले भने, ‘अपराधबाट कसैलाई छुट दिने होइन । तर निजी क्षेत्रलाई धरपकड गर्ने होइन ।’


    अर्थ चाैतारी
  • सोमबार, २३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट