काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको शेयर सूचीकृत भएको छ । आज बिहीबार कम्पनीको ३ करोड ७५ लाख कित्ता शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएपछि शुक्रबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। शुक्रबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (PCIL) सिम्बलबाट कारोबार हुने छ।
कम्पनीले फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म आम सर्वसाधारणलाई ४५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले पुस ९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।
यो कम्पनी सन् २००९ मा स्थापना भएको हो। कम्पनीको फ्याक्ट्री नवलपरासीमा रहेको छ। कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा बिक्री गरिरहेको छ। कम्पनीमा आरएमसी ग्रुपको लगानी छ।
अर्थ चाैतारी ।