logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • २९ खर्ब ३३ अर्ब पुग्यो सार्वजनिक ऋण, ९ महिनामा थपियो साढे २ खर्ब

    २९ खर्ब ३३ अर्ब पुग्यो सार्वजनिक ऋण, ९ महिनामा थपियो साढे २ खर्ब

    208
    SHARES
    २९ खर्ब ३३ अर्ब पुग्यो सार्वजनिक ऋण, ९ महिनामा थपियो साढे २ खर्ब

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको सार्वजनिक ऋण साढे २ खर्बभन्दा बढीले वृद्धि भएको छ ।



    अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चैत मसान्तसम्मको प्रतिवेदनअनुसार नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

    आर्थिक वर्षको सुरु अर्थात् साउन १ गतेसम्म नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो। चैत मसान्तसम्म आइपुग्दा विनिमय दरमा भएको नोक्सानीसहित कुल ऋणमा २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ थप वृद्धि भएको हो ।

    बढेको यस ऋणसँगै अब नेपालको कुल सार्वजनिक ऋण देशको कुल गार्हस्थ्य उत्पादनको झन्डै आधा अर्थात् ४८.०४ प्रतिशत पुगेको छ ।

    आन्तरिक भन्दा बाह्य ऋणको भार बढी

    कुल सार्वजनिक ऋणमध्ये बाह्य (वैदेशिक) ऋणको हिस्सा बढी छ । १५ खर्ब ४५ अर्ब ६७ करोड रुपैयाँ अर्थात् कुल ऋणको ५२.६९ प्रतिशत र जीडीपीको २५.३१ प्रतिशत हो ।

    त्यस्तै, आन्तरिक ऋण १३ खर्ब ८८ अर्ब ११ करोड रुपैयाँ छ जुन कुल ऋणको ४७.३१ प्रतिशत र जीडीपीको २२.७३ प्रतिशत हो ।

    ९ महिनामा लक्ष्यको ५८ प्रतिशत सङ्कलन

    सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८.४५ प्रतिशत अर्थात् ३ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ मात्र ऋण प्राप्ति भएको छ।

    यस अवधिमा सरकारले आन्तरिकतर्फ २ खर्ब ८३ अर्ब ६६ करोड र बाह्यतर्फ ६४ अर्ब ४८ करोड रुपैयाँ ऋण लिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

     

    साँवा–ब्याज भुक्तानीमै सकियो साढे २ खर्ब

    सरकारले लिएको ऋणमध्ये अधिकांश रकम यसअघि लिइएको ऋणको साँवा र ब्याज भुक्तानीमा ठुलो रकम खर्च भएको छ । चालु आर्थिक वर्षमा साँवा र ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएकोमा चैत मसान्तसम्ममै २ खर्ब ५८ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । यो कुल विनियोजित बजेटको ६२.८८ प्रतिशत हो।

    कुल भुक्तानी भएको रकममध्ये आन्तरिक ऋणको साँवा–ब्याजवापत २ खर्ब ९ अर्ब ३८ करोड र बाह्य ऋणबापत ४९ अर्ब ६ करोड रुपैयाँ बुझाइएको छ। ऋणको साँवा–ब्याज भुक्तानीमा भएको यो खर्च देशको कुल गार्हस्थ्य उत्पादनको ४.२३ प्रतिशत हुन आउँछ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट