काठमाण्डौ । रामेछापको मन्थलीस्थित तामाकोशी नदीमा जेटबोट र र्याफ्टिङ सेवा सञ्चालनमा आएको छ । तामाकोशी मरिण एडभेन्चर प्रा.लि.ले गत वर्षदेखि जेटबोट परीक्षण गर्दै आएकोमा अब भने जेटबोटसहित र्याफ्टिङ सेवा पनि व्यवसायिक रुपमा सुरु गरेको हो ।
नयाँवर्ष २०८३ को सुरुवातसँगै र्याफ्टिङ सेवा पनि थप गरेर मन्थलीमा जलपर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्य लिइएको कम्पनीका सञ्चाला सागरहरि अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार हाल जेटबोट सेवा मन्थलीस्थित करमबोटदेखि मन्थली घाटसम्म सञ्चालन भइरहेको छ ।
जेटबोट र र्याफ्टिङ दुबैमा अहिले आन्तरिक पर्यटकहरुको आकर्षण देखिएको सञ्चालक अधिकारी बताउँछन् । उनका अनुसार हाल दैनिक ५० जना सम्मले जेटबोट र र्याफ्टिङ अनुभव लिइरहेका छन् ।
अभ निकट भविष्यमा सेवा विस्तार गर्दै करमबोटदेखि खुर्कोटसम्म पुर्याउने योजना रहेको अधिकारीले बताएका छन् । यसका लागि तामाकोशी नदीभित्र जेटबोट र र्याफ्टिङ सहजै चलाउन सकिने गरी व्यवस्थित बनाउने कामका लागि मन्थली नगरपालिका र पानीजहाज कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ छ ।
जेटबोट चढ्न दुरीका हिसाबले शुल्क निर्धारण गरिएको छ । २ किलोमिटरका लागि ३५० रुपैयाँ, ४ किलोमिटरका लागि ५०० रुपैयाँ र ६ किलोमिटरका लागि १००० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
र्याफ्टिङ सेवामा भने करिब आधा दिनसम्म चलेमा २ हजार ५०० रुपैयाँ तोकिएको छ । छोटो दूरीअन्तर्गत हलेदेबाट मन्थलीसम्म र्याफ्टिङ चढेमा १ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।
अर्थ चाैतारी ।