logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • घुमुवाले असुली धन्दा चलाएपछि मधेसका डीआईजी विवादमा

    घुमुवाले असुली धन्दा चलाएपछि मधेसका डीआईजी विवादमा

    247
    SHARES
    घुमुवाले असुली धन्दा चलाएपछि मधेसका डीआईजी विवादमा

    काठमाण्डौ । मधेस प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलिया विवादमा तानिएका छन् । मधेस प्रदेश अन्तर्गत धनुषाको प्रहरी चौकी जानकीका इन्चार्ज सई सागर शमसेर जबरा र एक व्यापारीको बिचमा भएको कुराकानी सामाजिक सञ्जालमा छताछुल्ल छ । वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई, तीनतारे) सागर शमसेर जबरासँग कुरा गर्दा ती व्यापारीले डीआईजीको नाममा आफूसँग मासिक ३ लाख र अर्का एकबाट डेढ लाख रुपैयाँ डीआईजीका घुमुवाले असुल्ने गरेको आरोप लगाएका छन् ।



    अडियो संवादमा ती व्यापारी भन्छन्, ‘मसँग जयलाल यादवले ३ लाख लिएर जान्छन्, उमेशबाट १ लाख ५० हजार ।’ जयलाल यादव प्रहरीका सई हुन् । उनको दबरन्दी जिल्ला प्रहरी कार्यालय सिरहा भए पनि उनी तराईका आठ वटै जिल्लामा डुल्छन् र डीआईजीले भनेअनुसार काम गर्छन् ।

    २०८२ असोज २४ मा मधेस प्रदेशमा गएका डीआईजी थपलियाले आफ्नो कार्यालयमा अर्का वरिष्ठ सई राखेका छन् । उनी हुन्, गोपाल थापामगर । मधेस प्रदेश प्रहरी कार्यालयमा कार्यरत थापा मगरले प्रदेशभरका जिल्लामा तस्करसँग मिलेर नाका सहज बनाउने र असुली धन्दा चलाउने गरेको आरोप छ । थापा मगरबारे मधेस प्रदेशमा कार्यरत एक जना प्रहरी अधिकृत भन्छन्, ‘थापा मगर वरिष्ठ सई होइनन्, मधेसका एआईजी हुन् ।’ उनको व्यङ्ग्यअनुसार डीआईजी थपलियाभन्दा बलिया छन् थापा मगर ।

    जिल्लाका एसपीहरूलाई उनले भनेको गर्न ‘बाध्य’ पार्ने हैसियत थापामगरले बनाएका छन् । सामाजिक सञ्जालमा जबराको अडियो सार्वजनिक भएपछि वरिष्ठ सईद्वय जबरा, थापा मगर र सई यादवलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।

    आफूविरुद्ध प्रमाण हुनेगरी अडियो कुराकानी सार्वजनिक गरेको आरोपमा डीआईजी थपलियाले वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया बढाएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका एसपी भेषराज रिजालले वैशाख ७ मा जबरालाई निलम्बनको प्रक्रिया सुरु गरिएको विषय प्रेस विज्ञप्ति प्रकाशन गरेर सार्वजनिक गरेका हुन् ।

    जबरा र व्यापारीबिच भएको कुराकानीबारे डीआईजी थपलिया भन्छन्, ‘नियोजित हिसाबले योजना बनाएर फोन गरेर रेकर्ड गरेको जस्तो देखिन्छ, त्यसबारे अनुसन्धान भइरहेको छ ।’ अडियो विवरणअनुसार भारतबाट भन्सार छलेर सामान ल्याउनेहरूसँग सई जयलालले डीआईजीको नाममा रकम असुल्ने गरेको देखिन्छ ।

    वरिष्ठ सई थापा मगर र सई यादवलाई घुमुवाका रूपमा परिचालन गरेर मधेसमा ‘असुली धन्दा’ चलाएको आरोपबारे डीआईजी थपलियाले रातोपाटीसँग भने, ‘आरोपको पुष्ट्याँइ हुनुपर्छ ।’ मधेसमा पछिल्लो समय देखिएको ‘आर्थिक विवाद’बारे प्रहरी हेड्क्वार्टरले छानबिन गरिरहेको डीआईजी थपलियाले बताए ।

    सप्तरीका एसपी पनि छानबिनमा

    आचरणविपरीत अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गौतम केसी पनि विवादमा तानिएका छन् । केसी र एक व्यक्तिबिच संवाद सार्वजनिक भएको छ । अडियो संवादमा उनले आफूविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै हप्काएको सुनिन्छ ।

    अडियो संवादमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन असहज भएको र प्रहरीले सहजीकरण नगरेको गुनासो सुनिन्छ । त्यसबारे सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अवि नारायण काफ्लेका अनुसार एसपी केसीमाथि छानबिन गर्न एसएसपी कमल थापाको नेतृत्वमा समिति गठन गरिएको छ । थापा मधेस प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् ।


    अर्थ चाैतारी
  • विहिबार, १० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट