काठमाण्डौ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ। मंगलबार बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासले गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो। सर्वोच्चको आदेशमा ‘सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्द्यीसहित लिखित जवाफ पेश गर्नु’ भनिएको छ।
गोल्छाको तर्फबाट उनकी पत्नी सीमा गोल्छाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमा गोल्छालाई गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै रिहाका लागि आदेश माग गरिएको थियो।
यससँगै सर्वोच्चले कारण देखाउ आदेश पनि दिएको छ। सर्वोच्चले ‘यसमा के कसो भएको हा? निवेकदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित’ लिखित जवाफ पेश गर्नु भनेको छ।
मंगलबार गोल्छाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेशप्रसाद धिताल, अधिवक्ताद्वय पंकजकुमार कर्ण र सूर्यराज दाहालले बहस गरेका थिए। गोल्छाकी पत्नी सीमा गोल्छाले वैशाख १४ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैशाख १० गते पक्राउ गरेको थियो। उनलाई नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको ब्युरोले जनाएको थियो।
अर्थ चाैतारी ।