काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा आफ्नो वित्तीय स्थितिमा उत्साहजनक सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफामा १२९.३४ प्रतिशतको ऐतिहासिक वृद्धि देखिएको छ।
समीक्षा अवधिमा बैंकले २ अर्ब ७६ करोड २० लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १ अर्ब २० करोड ४३ लाख ७० हजार रुपैयाँमा सीमित थियो।
बैंकको नाफामा आएको यो उल्लेख्य बढोत्तरीको मुख्य आधार खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धि हो। बैंकको खुद ब्याज आम्दानी २२.५७ प्रतिशतले बढेर ८ अर्ब ७० करोड ८७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १३१.५८ प्रतिशतको उच्च वृद्धि सहित ३ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ कायम भएको छ।
नाफामा भएको सुधारसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि १० रुपैयाँ २७ पैसाबाट बढेर २३ रुपैयाँ ५५ पैसा पुगेको छ। वित्तीय अवस्था थप सुदृढ बन्दै जाँदा बैंकको लाभांश वितरण गर्ने क्षमता पनि धनात्मक बनेको छ। गत वर्ष १ अर्ब २ करोड रुपैयाँले ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा यसपालि ३१ करोड ६१ लाख ५७ हजार रुपैयाँ पुगेको छ।
हाल १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३९ अर्ब ८ करोड ६७ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ ३५१ रुपैयाँ ९८ पैसा कायम भएको छ।
व्यवसाय विस्तार र सञ्चालन दक्षताका हिसाबले पनि बैंक बलियो देखिएको छ। चैत मसान्तसम्ममा बैंकले ५ खर्ब ९७ अर्ब ९६ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २२ अर्ब ८७ करोड ८९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको निक्षेप लागत २.९७ प्रतिशत र आधार दर ४.२१ प्रतिशतको न्यून विन्दुमा रहनुले बैंकको सञ्चालन कुशलतालाई झल्काउँछ। त्यस्तै, बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा सुधार गर्दै खराब कर्जालाई ४.६९ प्रतिशतबाट घटाएर ४.४८ प्रतिशतमा झार्न सफल भएको छ।
अर्थ चाैतारी ।