logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • कृषि विकास बैंकको नाफामा ५७ प्रतिशतको छलाङ, वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड

    कृषि विकास बैंकको नाफामा ५७ प्रतिशतको छलाङ, वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड

    455
    SHARES
    कृषि विकास बैंकको नाफामा ५७ प्रतिशतको छलाङ, वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड

    काठमाण्डौ । सरकारी स्वामित्वको कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा उच्च नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार समीक्षा अवधिमा खुद नाफा ५७.१९ प्रतिशतले बढेर १ अर्ब ३९ करोड ३९ लाख ७३ हजार रुपैयाँ पुगेको छ।



    गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८८ करोड ६८ लाख १० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। नाफामा भएको यस वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १० रुपैयाँ ७१ पैसाबाट बढेर १३ रुपैयाँ २५ पैसा कायम भएको छ।

    बैंकको नाफा बढे पनि मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा भने केही संकुचन देखिएको छ। अघिल्लो वर्ष ५ अर्ब ८१ करोड २३ लाख रुपैयाँ रहेको यस्तो आम्दानी ११.३४ प्रतिशतले घटेर ५ अर्ब १५ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ।

    यद्यपि, बैंकको सञ्चालन मुनाफामा भने उत्साहजनक सुधार देखिएको छ। गत वर्ष १ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३४.२६ प्रतिशतले वृद्धि भई २ अर्ब १२ करोड ९ लाख रुपैयाँ पुगेको छ।

    सम्पत्तिको गुणस्तर व्यवस्थापनमा चुनौती रहे पनि बैंकले खराब कर्जा (एनपिएल) मा सामान्य सुधार गरेको छ। गत वर्षको चैत मसान्तसम्म ५.०६ प्रतिशत रहेको खराब कर्जा झरेर ४.९८ प्रतिशत कायम भएको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १४ लाख ४२ हजार रुपैयाँ रहेको छ, जसले आगामी दिनमा लाभांश वितरण गर्ने क्षमतालाई सुदृढ बनाएको देखिन्छ।

    १८ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ १९ पैसा पुगेको छ।

    व्यवसाय विस्तारका हिसाबले बैंकले चैत मसान्तसम्म २ खर्ब ९१ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। लागत व्यवस्थापनतर्फ बैंकको निक्षेप लागत ३.३५ प्रतिशत र आधार दर ५.०१ प्रतिशतको विन्दुमा रहेको छ, जसलाई बैंकको प्रभावकारी वित्तीय व्यवस्थापनका रूपमा लिइएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट