बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घले यही जेठ ११ गते सोमबार ३२औँ परिषद् सभा आयोजना गर्ने निर्णय गरेको छ। सोमबार बसेको सङ्घको कार्यसमिति बैठकले सङ्घको सभाहलमा परिषद् सभा आयोजना गर्ने निर्णय गरेको हो। सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेलाई परिषद् सभाका लागि वस्तुगत समितिहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ।
उद्योगतर्फका वस्तुगत समितिहरूलाई उद्योग उपाध्यक्ष सुरज भट्टराई तथा वाणिज्यतर्फका समितिहरूलाई वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईसहित वस्तुगत समिति समन्वय संयोजकमार्फत प्रतिवेदन तयारी र सक्रिय सहभागिताका लागि आवश्यक कार्य गर्न जिम्मेवारी तोकिएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए।बैठकले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत प्राप्त व्यवसाय प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि प्रस्तुत कार्यक्रम तथा बजेटमाथि छलफल गरी स्वीकृति प्रदान गरेको जनाएको छ।
त्यसै गरी, हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनबाट कार्यकारिणी समितिको सदस्यमा निर्वाचित सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल तथा निवर्तमान अध्यक्ष उज्ज्वल प्रसाद कसजूसहित नवनिर्वाचित कार्यसमितिलाई बैठकले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
सङ्घको नेतृत्व विकास तथा नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतका अन्य सङ्घहरूले गरेका असल अभ्यास तथा कार्यक्रमबारे जानकारी हासिल गर्न जेठ १२ देखि १६ गतेसम्म अध्ययन अवलोकन भ्रमणसमेत तय गरिएको जनाइएको छ।
अर्थ चाैतारी ।