काठमाण्डौ । समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले बचत फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज (सोमबार) तीनवटा सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको हो।
कान्तिपुर सहकारीका २१५, शिवशिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताले बचत फिर्ता पाएको समितिले जनाएको छ।
समितिका अनुसार पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने छ। समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रूपैयाँ बचत फिर्ता गर्नुपर्नेछ।
पाँच लाखभन्दा कम रकम भएका बचतकर्तालाई साना र पाँच लाखभन्दा बढी रकम भएकालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको समितिको भनाइ छ। कुल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने कामसमेत तीव्र रूपमा भइरहेको बताइन्।
अर्थ चाैतारी ।