logo

२०८३ जेष्ठ ७, विहिबार

logo
  • २०८३ जेष्ठ ७, विहिबार
  • भारतमा युवाकाे कक्रोच जनता पार्टी: एक शब्दबाट सुरु भएको डिजिटल विद्रोह

    भारतमा युवाकाे कक्रोच जनता पार्टी: एक शब्दबाट सुरु भएको डिजिटल विद्रोह

    182
    SHARES
    भारतमा युवाकाे कक्रोच जनता पार्टी: एक शब्दबाट सुरु भएको डिजिटल विद्रोह

    काठमाण्डौ । भारतमा यतिबेला ‘कक्रोच पार्टी’बारे तीव्र बहस शुरू भएको छ । दलभित्रको गुटबन्दी वा सत्ताको खेलबाट सुरु नभएको अनौठो अनौठो राजनीतिक बहस हो कक्रोच पार्टी । यसको सुरुआत सूर्यकान्त नामका एक न्यायाधीशले सर्वोच्च अदालतको सुनुवाइका क्रममा प्रयोग गरेको एउटा शब्दबाट भएको हो ।



    बेरोजगार युवालाई ‘कक्रोच’सँग तुलना गरिएको भनिएको उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया जन्मायो । तर, आलोचनामा सीमित नरही, यही शब्दले २४ घण्टाभित्रै एक नयाँ ‘राजनीतिक आन्दोलन’ जन्मायो-‘कक्रोच जनता पार्टी’ (CJP) । केही दिनअघि मात्र सुरु भएको यो ‘आन्दोलन’ औपचारिक राजनीतिक दल होइन, तर व्यंग्य, डिजिटल संस्कृति र वास्तविक असन्तोषको मिश्रण हो ।

    यसको नामले नै भारतीय जनता पार्टीमाथि संकेत गर्दै राजनीतिक संरचनाप्रति व्यंग्य प्रहार गर्छ । ‘सेक्युलर, समाजवादी, लोकतान्त्रिक र अल्छी’ भन्ने नारा बोकेको यो अभियानले आफूलाई ‘युवाको, युवाद्वारा, युवाका लागि’ बनेको मोर्चा भनेर चिनाउँछ । यस आन्दोलनको पछाडि छन् ३० वर्षीय अभिजीत दिप्के, जो अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । सामाजिक सञ्जाल र डिजिटल रणनीतिमा अनुभव भएका दिप्केले एउटा साधारण गुगल फारममार्फत ‘कक्रोच’ हरूलाई सदस्य बन्न आह्वान गरे ।

    केही घण्टामै हजारौंले फारम भरे । ७२ घण्टाभित्र सदस्य संख्या १ लाख नाघ्यो भने केही दिनमै यो संख्या ३ लाख ५० हजारभन्दा बढी पुगेको बताइन्छ । यो टिप्पणी तयार पार्दासम्म कक्रोच पार्टीले इन्स्टाग्राममा १ करोडभन्दा बढी फलोअर्स र एक्समा १ लाख ५० हजारभन्दा बढी फलोअर्स जुटाएको छ । यससँगै सामाजिक सञ्जालमा ‘म पनि कक्रोच’ भन्ने ह्यासट्याग ट्रेन्ड बन्यो ।

    यो सबैको जडमा रहेको विवाद भने गम्भीर थियो । सर्वोच्च अदालतको सुनुवाइका क्रममा नक्कली डिग्रीधारीहरूबारे टिप्पणी गर्दै सूर्यकान्त ले केही युवालाई ‘कक्रोच’ र ‘परजीवी’ सँग तुलना गरेको आरोप लाग्यो । पछि उनले आफूलाई गलत रूपमा बुझिएको स्पष्टिकरण दिए र युवालाई ‘विकसित भारतका स्तम्भ’ भने । तर, त्यतिबेलासम्म उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा फैलिसकेको थियो ।

    ‘कक्रोच जनता पार्टी’ ले व्यंग्यात्मक शैली अपनाए पनि यसका मागहरू भने गम्भीर छन् । पाँच बुँदे घोषणापत्रमा पूर्व प्रधानन्यायाधीशलाई अवकाशपछि राज्यसभा सदस्य बनाउने प्रथामा रोक, निर्वाचन प्रक्रियामा गडबडी गर्नेलाई कडा कारबाही, संसदमा ५० प्रतिशत महिला आरक्षण, दल त्याग्ने जनप्रतिनिधिलाई २० वर्ष प्रतिबन्ध, तथा मिडियामा ‘सरकारी प्रचार’ गर्नेहरूका बैंक खाता छानबिनजस्ता माग समावेश छन् ।

    यो आन्दोलनलाई केही चर्चित व्यक्तिहरूले पनि समर्थन जनाएका छन् । महुआ मोइत्राले आफू यसमा सामेल हुन चाहेको बताएकी छन् भने कीर्ति आजादले पनि समर्थन संकेत गरेका छन् । यस्ता समर्थनले यसलाई केवल ‘मिम’ भन्दा माथि उठाएर राजनीतिक बहसको विषय बनाएको छ ।

    तर, यसको कानुनी हैसियत स्पष्ट छैन । यो भारतको निर्वाचन आयोगमा दर्ता भएको दल होइन । न त यसको औपचारिक संरचना छ, न चुनाव चिह्न । यद्यपि, बिहारको बैंकिपुर क्षेत्रमा उपनिर्वाचन लड्ने सम्भावनाबारे प्रारम्भिक छलफल सुरु भएको बताइएको छ । भारतमा स्नातक बेरोजगारी दर करिब २९ प्रतिशत पुगेको छ, जुन शिक्षित युवामा गहिरो असन्तोषको संकेत हो ।

    वर्षौंको पढाइपछि पनि रोजगारी नपाउने, परीक्षामा धाँधली, पेपर लिक, तथा अस्थिर ‘गिग इकोनोमी’ले युवामा निराशा बढाएको छ । यस्तो अवस्थामा जब राज्यकै उच्च पदस्थ व्यक्तिबाट अपमानजनक भाषा प्रयोग भएको महसुस भयो, त्यसले असन्तोषलाई विस्फोट गरायो । ‘कक्रोच’ प्रतीक आफैंमा शक्तिशाली सन्देश बोकेको छ- कुनै पनि परिस्थितिमा बाँचे रहने जीव । युवाहरूले यसलाई आत्मसात गर्दै आफूलाई प्रणालीको उपेक्षाबीच पनि टिकिरहेका पुस्ताका रूपमा प्रस्तुत गरेका छन् ।

    यसले राजनीतिक विरोधको नयाँ शैली पनि देखाएको छ । परम्परागत आन्दोलन सडकमा हुन्थे, तर यो आन्दोलन मिम, ह्यासट्याग र डिजिटल व्यंग्यबाट सुरु भएको छ । यो ‘जेन–जी’ पुस्ताको राजनीतिक भाषा हो, जहाँ हास्य नै विरोधको माध्यम बनेको छ ।

    दीर्घकालीन रूपमा यसको प्रभाव के हुनेछ भन्ने अझै स्पष्ट छैन । सम्भवतः यो छोटो समयमै हराउन सक्छ । तर यसले एउटा महत्वपूर्ण प्रश्न उठाएको छ—जब शिक्षित, डिजिटल रूपमा सशक्त र सचेत युवा पुस्ताले आफूलाई प्रणालीबाट अपमानित महसुस गर्छ, तब उनीहरूको प्रतिक्रिया कस्तो हुन्छ ?


    अर्थ चाैतारी
  • विहिबार, ७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट