काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया रोक्न माग गर्दै दायर भएको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतको यो आदेशसँगै अब पूर्वनिर्धारित कार्यतालिका अनुसार आगामी जेठ ८ गते शुक्रबार महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चुनाव गर्ने बाटो खुला भएको छ ।
महासंघका कार्यसमिति सदस्यहरू हेमराज ढकाल, किशोर प्रधान, नरेन्द्र खड्का र प्रल्हाद दाहालले सोमबार चयन प्रक्रिया रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्दै अदालतले कारण देखाऊ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी गरी बिहीबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । बिहीबार न्यायाधीशद्वय लालबहादुर कुँवर र दीपक खनालको संयुक्त इजलासले निवेदकहरूको माग बमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो ।
अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि महासंघले चुनावी प्रक्रियालाई तीव्रता दिने भएको छ । निर्वाचन अगाडि शुक्रबार बिहान ९ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ भने वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका आकांक्षीहरूका लागि मनोनयन दर्ताको समय पनि शुक्रबारकै लागि तोकिएको छ ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको चयन निर्वाचित केन्द्रीय कार्यसमितिले गर्ने प्रावधान रहेको छ । यसअघि गत वैशाख २१ र २२ गते महासंघको ६० औँ साधारणसभा तथा निर्वाचन सम्पन्न भइसकेको छ ।
अदालतको बाटो खुलेसँगै दुवै पदका लागि महासंघभित्र तीव्र प्रतिस्पर्धा र लबिइङ सुरु भएको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, हेमराज ढकाल, भरतराज आचार्य, रामचन्द्र सांघाई र किशोर प्रधान आकांक्षी देखिएका छन् । यसैगरी, कोषाध्यक्ष पदमा अम्बिका प्रसाद पौडेल, मनिषलाल प्रधान र भक्त हमालको चर्चा भइरहेको छ । शुक्रबार नै मनोनयन दर्ता र निर्वाचन दुवै सम्पन्न गर्ने महासंघको तयारी रहेको छ ।
अर्थ चाैतारी ।