काठमाण्डौ । हवाई यात्राका क्रममा विमान परिचालकको लापरवाहीका कारण तातो कफी पोखिएर घाइते भएकी ललितपुरकी प्रिती थापालाई कतार एयरवेजले करिब २ करोड ६१ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।
उपभोक्ता अदालतका अध्यक्ष डा. दिवाकर भट्ट सदस्य गहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले थापाको पक्षमा फैसला सुनाउँदै उक्त रकम भराउन आदेश दिएको हो ।
उनले आफूलाई परेको शारीरिक, मानसिक तथा आर्थिक क्षतिको दाबी गर्दै थापाले कतार एयरवेजविरुद्ध उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले सेवा प्रदायक कम्पनीले यात्रुको सुरक्षा र गुणस्तरीय सेवामा लापरवाही गरेको ठहर गरेको छ।
अदालतले मन्त्रिअल सन्धिको आधारमा अन्तर्राष्ट्रिय हवाई यातायातसम्बन्धी मन्त्रिअल सन्धिको प्रावधान बमोजिम वादीलाई २ करोड ४१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ । त्यस्तै नेपालको उपभोक्ता ऐन बमोजिम थप २० लाख रुपैयाँ क्षतिपूर्ति भराउन भनेको छ । यससँगै प्रिती थापाले कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति पाउने छिन् ।
ललितपुर महानगरपालिका वडा नं. २, झम्सिखेलकी थापाले सन् २०२३ मे २६ मा कतार एयरवेजको टिकट खरिद गरी अमेरिकाको बोस्टन गएकी थिइन। सन् २०२३ जुलाई १० मा बोस्टनबाट दोहा हुँदै काठमाडौँ फर्किने क्रममा कतार एयरवेजको विमान (QR ७४४) भित्र यो घटना घटेको थियो।
विमानभित्र यात्रा गरिरहेका बेला चालक दलका सदस्यले थापालाई अत्यधिक तातो कफी दिने क्रममा लापरवाही गर्दा कफी थापाको पेट, तिघ्रा र संवेदनशील अंगहरूमा पोखिएको थियो । कफीका कारण गम्भीर जलन हुनुका साथै यात्राकै क्रममा असह्य पीडा भोग्नुपरेको थियो।
विमान दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि थापालाई आकस्मिक स्वास्थ्य सेवामा लगिएको थियो। जहाँ स्वास्थ्यकर्मीहरूले ‘सेकेन्ड डिग्री बर्न’ (दोस्रो तहको जलन) भएको पुष्टि गरेका थिए । कतारमा प्राथमिक उपचारपछि थापा नेपाल फर्किएर कीर्तिपुर अस्पतालमा लामो समय थप उपचार गराएकी थिइन्।
अर्थ चाैतारी ।