काठमाण्डौ । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि बनेको प्रतिनिधि सभामा विपक्षी दलहरूले पहिलो पटक बेल घेराउ गरेका छन् ।
प्रतिपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाले बिहीबारको बैठकमा बेल घेराउ गरेका हुन् । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ मा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदहरूसँग प्रश्नोत्तर गर्ने व्यवस्था छ ।
त्यही व्यवस्थालाई कार्यान्वयनमा नल्याइएको भन्दै तीन दलले बेल घेराउ गरेका हुन् । उनीहरूको बेल घेराउलाई कांग्रेसका सांसदहरूले आ–आफ्नो स्थानबाट उभिएर समर्थन गरे । विपक्षी श्रम संस्कृति पार्टीका सांसदहरू भने सदनको बैठक छोडेर बाहिरिए ।
तर, विपक्षीको बेल घेराउबिच सभामुख डोलप्रसाद अर्यालले भने सदन चलाए । विपक्षीको नाराबाजीबिच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रतिनिधि सभाबाट पारित पारित भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो विधेयक माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
दफावार छलफलपछि अर्थमन्त्री वाग्लेले विधेयक पारित गरियोस् भन्दै पेस गरेपछि सत्ता पक्षका सांसदको बहुमतले पारित भएको हो । विधेयकमा दफावार छलफल र पारित गर्ने प्रक्रियामा विपक्षी सांसदहरू सहभागी भएनन् ।
विपक्षीले उठेर विरोध गरेपछि सभामुख अर्याल प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए । तर, प्रधानमन्त्री शाहले आउने सङ्केत नदेखाएपछि उनी विपक्षीलाई पेलेर अगाडि बढेका हुन् ।
अर्थ चाैतारी ।