काठमाण्डौ । सरकारले राइड सेयरिङ प्लेटफर्ममा पहिलो पटक कर लगाएको छ । कर लगाएसँग अब टुटल, पठाओ, इन्ड्राइभ र याङ्गो जस्ता राइड सेयर चढ्दा ६ प्रतिशत महंगो हुने भएको छ ।
बालेन सरकारले आर्थिक विधेयक २०८३ मार्फत सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५८ को दफा ७ को उपदफा ‘क’ पछि बुँदा थप्दै यसबारे व्यवस्था गरेको हो । आर्थिक विधेयकमार्फत सो ऐनको दफा ७ को उपदफा १ पछि उपदफा १ क र १ ख थप्दै यस्तो व्यवस्था गरिएको हो। जहाँ लेखिएको छ, ‘(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी उपदफा (१) बमोजिमको करको दरमा नबढ्ने गरी बहुदर कायम गर्न र सो बमोजिम कर लाग्ने वस्तु तथा सेवा तोक्न सक्नेछ ।’
सँगै (१ख) उपदफा (१) र (१क) मा जुनसुकै कुरा लेखिएको भए तापनि बासिन्दा राइड सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड सेयरिङ अपरेटर) बाट सञ्चालित प्लेटफर्ममा आवद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गरेको बखत राइड सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति र अन्तिम उपभोक्तालाई विद्युत सेवा प्रदान गर्ने व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा ५ प्रतिशतका दरले कर निर्धारण गरी असुल उपर गर्नु पर्नेछ,’ उल्लेख छ ।
यसमा अग्रिम आयकर १ प्रतिशत समेत जोडेर मूल्यमा थप ६ प्रतिशत लाग्ने भएको हो ।
सो ऐनको दफा ८ को उपदफा (२क) पछि देहायको उपदफा (२ख) थपिएको छ । जसमा ‘(२ख) बासिन्दा राइड-सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड सेयरिङ अपरेटर) बाट सञ्चालित प्लेटफर्ममा आबद्ध भई सवारी वा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गरेको बखत राइड-सेयरिङ प्लेटफर्म सञ्चालकले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा कर निर्धारण गरी असुल उपर गर्नु पर्नेछ ।’
अर्थ चाैतारी ।