logo

२०८३ जेष्ठ १८, सोमबार

logo
  • २०८३ जेष्ठ १८, सोमबार
  • जीवन बीमा व्यापार वृद्धि: कर्णालीमा सबैभन्दा धेरै बढ्दा बागमतीमा कम, प्रदेशगत बजार हिस्सा कति ?

    जीवन बीमा व्यापार वृद्धि: कर्णालीमा सबैभन्दा धेरै बढ्दा बागमतीमा कम, प्रदेशगत बजार हिस्सा कति ?

    247
    SHARES
    जीवन बीमा व्यापार वृद्धि: कर्णालीमा सबैभन्दा धेरै बढ्दा बागमतीमा कम, प्रदेशगत बजार हिस्सा कति ?

    काठमाण्डौ । जीवन बीमा व्यापार वृद्धि सबैभन्दा बढी कर्णाली प्रदेशमा देखिएको छ। जीवन बीमा व्यापारको हिस्सा सबैभन्दा कम कर्णालीमा रहे पनि वृद्धिदरका हिसाबले अगाडि देखिएको हो।



    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को वैशाखसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१।८२ को वैशाखसम्मको तुलनामा चालु आर्थिक वर्षको यही अवधिसम्म कर्णालीमा जीवन बीमा व्यवसाय २०.१८ प्रतिशतले बढेको छ। जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको वैशाखसम्म कर्णालीबाट ४ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको यही अवधिसम्म कम्पनीहरुले कर्णालीबाट ३ अर्ब ९५ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए।

    दोस्रो धेरै वृद्धि मधेश प्रदेशमा देखिएको छ। कम्पनीहरुले यो प्रदेशबाट समीक्षा अवधिसम्म १४ अर्ब ५२ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। गत वर्ष यही अवधिसम्म १२ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिसम्म मधेश प्रदेशमा जीवन बीमा व्यवसाय १७.१८ प्रतिशतले बढेको छ।

    यसैगरी तेस्रो धेरै वृद्धि लुम्बिनी प्रदेशमा देखिएको छ। गत आर्थिक वर्षको वैशाखसम्म कम्पनीहरुले यो प्रदेशबाट २१ अर्ब ९४ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा १६.१० प्रतिशतले बढेर २५ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ संकलन भएको छ।

    त्यस्तै जीवन बीमकहरुले सुदूरपश्चिमबाट ९ अर्ब ७७ करोड ५ लाख रुपैयाँ, गण्डकीबाट १६ अर्ब २५ करोड ५९ लाख रुपैयाँ, कोशीबाट १९ अर्ब ४ करोड ७८ लाख रुपैयाँ र बागमतीबाट ७० अर्ब १३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको वैशाखसम्मको तुलनामा समीक्षा अवधिमा जीवन बीमा व्यवसाय सुदूरपश्चिममा १५.५८ प्रतिशत, गण्डकीमा १४.९८ प्रतिशत, कोशीमा १२.८७ प्रतिशत र बागमतीमा १२.०६ प्रतिशतले बढेको छ।

    चालु आर्थिक वर्षको वैशाखसम्म कम्पनीहरुले १ खर्ब ५९ अर्ब ९६ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको वैशाखसम्म कम्पनीहरुले १ खर्ब ४० अर्ब ३५ करोड २ लाख रुपैयाँ कुल बीमशुल्क संकलन गरेका थिए। गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार १३.९८ प्रतिशतले बढेको छ।

    बजार हिस्सा

    जीवन बीमा व्यवसाय बजार हिस्साको हिसाबले बागमती प्रदेश अगाडि रहेको छ। वैशाखसम्मको कुल व्यापारमा यो प्रदेशको हिस्सा ४३.८४ प्रतिशत रहेको छ। दोस्रो ठूलो बजार लुम्बिनी देखिएको छ। कुल व्यापारमा यो प्रदेश हिस्सा १५ प्रतिशत रहेको छ।

    यसैगरी प्रदेशगत बजार हिस्सा कोशीको ११.९१ प्रतिशत, गण्डकीको १०.१६ प्रतिशत, मधेशको ९.०८ प्रतिशत, सुदूरपश्चिमको ६.११ प्रतिशत र कर्णालीको २.९७ प्रतिशत रहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, १८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट