logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • साना तथा मझौला उद्यमीको विकास बिना आर्थिक क्रान्ति असम्भव: वरिष्ठ उपाध्यक्ष वैद्य

    साना तथा मझौला उद्यमीको विकास बिना आर्थिक क्रान्ति असम्भव: वरिष्ठ उपाध्यक्ष वैद्य

    455
    SHARES
    साना तथा मझौला उद्यमीको विकास बिना आर्थिक क्रान्ति असम्भव: वरिष्ठ उपाध्यक्ष वैद्य

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले साना तथा मझौला उद्यमीहरूको प्रवर्द्धन र विकास बिना देशमा आर्थिक क्रान्ति सम्भव नभएको बताएका छन्। घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँगको भेटघाटका क्रममा उनले मुलुकको आर्थिक समृद्धिका लागि साना उद्योगहरूको व्यवस्थापन र औद्योगिक क्रान्ति अनिवार्य सर्त रहेको उल्लेख गरेका हुन् ।



    वरिष्ठ उपाध्यक्ष वैद्यले साना तथा घरेलु उद्योग महासंघले जिल्ला तहसम्म पुगेर गरिरहेको कार्यको प्रशंसा गर्दै सरकारले यस क्षेत्रलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनले महासंघको वरिष्ठ उपाध्यक्षको हैसियतले अबका दिनमा वस्तुगत संघ, जिल्ला नगर उद्योग वाणिज्य संघ र साना तथा मझौला व्यवसायीहरूलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। विशेष गरी वस्तुगत संघका सदस्यहरूको सक्रियताले महासंघलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

    सरकारी बजेट र तालिम कार्यक्रमहरूको प्रभावकारितामाथि प्रश्न उठाउँदै उपाध्यक्ष वैद्यले हाल सञ्चालित सीपमूलक कार्यक्रमहरूले लक्षित वर्गलाई समेट्न नसकेको टिप्पणी गरे। स्थानीय सरकारको अगुवाइमा महिला, युवा तथा कृषक लक्षित आर्थिक, सीपमूलक र आयमूलक तालिमहरू भए पनि त्यसको प्राविधिक समन्वय र कार्यान्वयन निजी क्षेत्रका छाता संगठनहरूमार्फत हुनुपर्ने उनको प्रस्ताव छ। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघबीचको समन्वयमा जिल्लास्तरका तालिमहरू सञ्चालन गरिए मात्र वास्तविक उद्यमीले अवसर पाउने र तालिमपश्चात रोजगारी सिर्जना हुने वैद्यले बताए। उनले आगामी दिनमा दुवै महासंघले साझा समिति बनाएर सरकारसँग प्रभावकारी रूपमा समन्वय गर्ने योजना रहेको समेत जानकारी दिए।

    भेटघाटका क्रममा आफ्नो धारणा राख्दै वरिष्ठ उपाध्यक्ष वैद्यले भने, ‘हामी के भन्छौँ भने, नेपालमा ठूला उद्योग घरानाभन्दा पनि जबसम्म साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन हुँदैन, जबसम्म साना उद्योगहरूको व्यवस्थापन हुँदैन र साना उद्यमीहरूको औद्योगिक क्रान्ति हुँदैन, तबसम्म देशमा आर्थिक क्रान्ति सम्भव हुँदैन भन्नेकुरा सबैले स्पष्ट रूपमा बुझेका छन्। तर पनि यो विषय सबै तहमा प्रभावकारी रूपमा आउन सकेको छैन। तपाईंहरू जति पनि दुःख गरिरहनुभएको छ, म निरन्तर हेरिरहेको हुन्छु। केन्द्रदेखि लिएर जिल्लासम्मका साथीहरू, विशेष गरी घरेलु तथा साना उद्योग महासंघका साथीहरू, दिनहुँ अत्यन्त सक्रिय भएर लागिरहनुभएको छ। वास्तवमा, जिल्ला उद्योग वाणिज्य संघभन्दा पनि बढी तपाईंहरूले मेहनत गरिरहनुभएको हामीले देखेका छौँ। तर सरकारले यस विषयलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुपर्छ भन्नेकुरा हामीले निरन्तर रूपमा उठाउँदै आएका छौँ।’

    सोही अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले निजी क्षेत्र सशक्त भए मात्र सरकारको सम्भावित हस्तक्षेप र दबाबलाई निरुत्साहित गर्न सकिने बताए। निजी क्षेत्र कमजोर हुँदा सरकारले थिच्न खोज्ने उल्लेख गर्दै उनले उद्योगी व्यवसायीहरू संगठित र बलियो हुनुपर्नेमा जोड दिए। अध्यक्ष सिंहले निजी क्षेत्रका प्रमुख चार संस्थाहरू नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सबीचको कार्यगत एकता र आपसी सद्भाव अपरिहार्य रहेको उल्लेख गरे।

    नेतृत्व तहमा एक–अर्कालाई स्वागत गर्ने र सहकार्य गर्ने परम्पराले यी संस्थाहरूलाई थप जीवन्त बनाउने उनको विश्वास छ। उनीले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायतका पदाधिकारीहरूसँगको सम्बन्ध र सहकार्यलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे।

    व्यवसायीहरूमाझ आफ्नो कुरा राख्दै अध्यक्ष सिंहले भने, ‘हामी यदि कमजोर भयौँ भने, निजी क्षेत्र पनि कमजोर हुन्छ। निजी क्षेत्र कमजोर भयो भने सरकारले पनि समय–समयमा हामीलाई थिच्न खोज्छ। तर हामी बलियो भयौँ भने आवश्यक पर्दा सरकारलाई पनि चुनौती दिन सक्छौँ। उद्योगी तथा निजी क्षेत्रको प्रतिनिधिका रूपमा, “निजी क्षेत्रलाई बेवास्ता गरेर अघि बढ्न खोज्नुभयो भने अप्ठ्यारो पर्न सक्छ” भन्ने चेतावनी र सचेत गराउने काम पनि हामीले नै गर्नुपर्छ।’


    अर्थ चाैतारी
  • मंगलबार, १९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट