काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई आर्थिक समृद्धिको नयाँ युगतर्फ मुलुकलाई अघि बढाउने महत्वपूर्ण सुरुवात बिन्दुका रूपमा व्याख्या गरेका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पोष्ट बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले बजेट महत्वाकांक्षी भए पनि प्रभावकारी कार्यान्वयन हुन सके निजी क्षेत्रको आत्मविश्वास बढ्ने र अर्थतन्त्रले नयाँ गति लिने विश्वास व्यक्त गरे। उनले नीति, नियत र नियतिको सही संयोजनले मात्र मुलुकको भविष्य निर्धारण हुने उल्लेख गर्दै बजेटले आर्थिक पुनरुत्थानको आधार तयार गरेको बताए।
अग्रवालका अनुसार नेपाल चेम्बर अफ कमर्सले सरकारलाई दिएका अधिकांश सुझाव बजेटमा समेटिएका छन्। व्यक्तिगत आयकर छुटको सीमा वार्षिक १० लाख रुपैयाँसम्म पुर्याउने व्यवस्था तथा ३६० प्रकारका वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज वा पुनर्संरचना गर्ने निर्णयलाई उनले ऐतिहासिक कदमको संज्ञा दिए। त्यस्तै, २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाउने व्यवस्थाले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने उनको धारणा छ।
भ्याट प्रणालीमा बहुदरको अवधारणा सुरु गरिएको विषयलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको उनले बताए। यद्यपि, विद्युत् सेवामा ५ प्रतिशत भ्याट लगाउने व्यवस्था पुनर्विचार गर्नुपर्ने उनको सुझाव थियो। कोभिड–१९ पछिका कर विवाद समाधानका लागि ल्याइएको कर चुक्ता योजनाले व्यवसायीलाई राहत पुग्नुका साथै राजस्व संकलनमा समेत सहयोग गर्ने विश्वास उनले व्यक्त गरे।
आईटी क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा घोषणा गरिएको निर्णयको स्वागत गर्दै अग्रवालले यसले रोजगारी सिर्जना र डिजिटल अर्थतन्त्र विस्तारमा योगदान पुर्याउने बताए। तर, विद्युतीय सवारीसाधनमा थप कर तथा निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थामा कर लगाउने व्यवस्थाले भने सम्बन्धित क्षेत्र प्रभावित हुन सक्ने उनको भनाइ थियो।
बजेटका सकारात्मक कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके लगानी प्रवर्द्धन, कर प्रणालीको सरलीकरण तथा समग्र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अध्यक्ष अग्रवालले बताए।
अर्थ चाैतारी ।