काठमाण्डौ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले आउँदो आर्थिक वर्षको बजेटप्रति कति नागरिक खुसी छन् ? भनेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रश्न गरेका छन् । बिहीबार (जेठ २८) प्रतिनिधिसभा बैठकमा छलफलका क्रममा उनले सार्वजनिक विद्यालय बलियो बनाउने विषय बजेटमा नभेटिएको पनि बताए ।
उनले सातै प्रदेशमा काठमाडौंको बूढानीलकण्ठजस्तो आवासीय स्कुल बन्ने अपेक्षा गरेकामा बजेटमा त्यस्तो व्यवस्था हुन नसकेको बताए । वाग्लेले बूढानीलकण्ठबाट स्कुले जीवन पूरा गरेका थिए ।
सांसद सिंहले बजेटबाट गरिबले के पायो ? भनेर पनि सोधे । “जनताको घरदैलोमा गइराख्नुपर्छ । गरिबको भान्समा देखिनुपर्छ । कर्मचारीले त २१ प्रतिशत पायो,” उनले भने, “गरिबले के पायो ? तीन करोड जनसंख्यामा कर्मचारी कति छन् ?”
उनले आफ्नो चिन्ता मुसहर, चेपाङ बस्तीमा रहेको बताए । बजेट कार्यान्वयन हुनेमा आफूलाई विश्वास नरहेको उनले उल्लेख गरे ।
“साउथ एसियामा आजसम्म कुनै देश नै छैन कि जहाँ जीडीपीको ३२/३३ प्रतिशत बजेट बनाइन्छ । यो आफैँमा फुकेको ठूलो बेलुन हो,” उनले भने, “फुकेको बेलुन लामो समय टिक्न सक्दैन । यो बजेट कार्यान्वयन हुन्छ, मलाई विश्वास छैन, अरूलाई विश्वास होला ।”
अर्थ चाैतारी ।