काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्युनिस्ट पार्टी ल्याएको नभएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको कार्यक्रम भएकाले फरक रहेको जिकिर गरेका छन्। प्रतिनिधि सभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको उत्तर दिने क्रममा अर्थमन्त्री डा. वाग्लेले गरिबी घटाउने र श्रमिकलाई सुरक्षित रोजगारी सिर्जना गर्ने गरी बजेट ल्याएको बताए। उनले मध्यम वर्ग आउने वितिक्कै ‘बायस’ नहुने आग्रह गरे।
निम्न वर्गलाई मध्यम वर्गमा उठाउने गरी बजेट ल्याएको दाबी गरे। ‘गरिबी घटाउने उपाय भनेको स्थायी रोजगारी हो,’ वाग्लेले चीनको उदाहरण दिँदै भने, ‘यसको सबभन्दा सफल उदाहरण जनवादी गणतन्त्र चीन। जसले समावेशी आर्थिक वृद्धिकै जगमा २०–२५ वर्षमा ८० करोड मानिसलाई गरिबीको रेखाबाट माथि उकास्यो।’ भेनेजुयला र जिम्बाबेको नभएर चीनले जसरी गरिबी घटाउने गरी बजेट ल्याउको उनको जिकिर थियो। ‘पैसा मात्रै बाढ्न थाल्यौँ भने त भेनेजुयला जस्तो भइहाल्यौँ नि। जिम्बाबेजस्तो भइहाल्यौँ नि। तीन चार वर्षमा टाँट पल्टिन्छ,’ उनले भने।
पछिल्लो दुई–तीन दशकमा नेपालले पनि गरिबी घटेको स्वीकारे। तर, त्यसमा उनले सरकारका कार्यक्रमभन्दा पनि रेमिट्यान्सलाई श्रेय दिए। ‘नेपालमा पनि गरिबी घटेको छ, तर गरिबी घट्नुमा रेमिट्यान्सबाट सिर्जित अर्थतन्त्र हो, सामाजिक हस्तान्तरण होइन,’ उनले भने।
गरिबलाई सहायता दिएर नभइ आर्थिक अवसर सिर्जना गरेर गरिबी घटाउने उनको भनाइ थियो। ‘गरिबलाई केबल राहत दिने होइन, उसको आम्दानी बढाउने आर्थिक अवसर सिर्जना गर्ने हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘हाम्रो दृष्टिकोण गरिबीको व्यवस्थापन होइन, समृद्धि सिर्जना हो। केबल सहायता होइन अवसर। वितरण होइन, उत्पादन। केबल भत्ता होइन, आम्दानी र रोजगारी हो। यो दर्शनबाट यो बजेट निर्मित छ।’ उनले मजदूरको पक्षमा पनि बजेट केन्द्रित भएको बताए। व्यवस्थित श्रम बजार सिर्जना गर्ने गरी बजेट ल्याएको उनको दाबी थियो।
‘राष्ट्रिय श्रम दर्ता प्रणालीको कल्पना गरिएको छ। अनिवार्य लिखित श्रम सम्झौता, न्युनतम ज्याला कार्यान्वयन, बैंकमार्फत पारिश्रमिकको भुक्तानी, बिमा, कार्यस्थल सुरक्षा, श्रम न्यायाधीकरण तथा सामाजिक सुरक्षा विस्तार जस्ता सुधारमार्फत लाखौँ श्रमिकलाई सुरक्षित र औपचारिक श्रम बजारमा आबद्ध गर्ने आधार तयार गरिएको छ,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘यो कुनै कम्युनिस्ट पार्टीले ल्याएको कार्यक्रम होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको कार्यक्रम हो।’
उनले श्रम मन्त्रालयलाई वैदेशिक रोजागरी व्यवस्थापन गर्ने मात्रै नभई स्वतदेशमै रोजगार सिर्जना गर्ने मन्त्रालयका रुपमा विकास गर्ने गरी बजेट ल्याएको बताए। अहिलेसम्म श्रम विषयलाई ‘बायस’का रुपमा हेरिएकाले ओझेल परेको जिकिर गरे। उनले भने, ‘समतामूखी आर्थिक नीति ल्याएका छौँ।’
अर्थ चाैतारी ।