काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेटौंडा उपमहानगरपालिका–४ स्थित नेपाल बैंक लिमिटेडको नवनिर्मित भवन उद्घाटन गरेका छन् । आइतबार आयोजित एक कार्यक्रमबीच उनले उक्त भवनको औपचारिक समुद्घाटन गरेका हुन् ।
उद्घाटनका अवसरमा अर्थमन्त्री वाग्लेले नेपालको पहिलो बैंकको रूपमा रहेको नेपाल बैंकको गौरवपूर्ण इतिहास स्मरण गर्दै आफ्नै भवनबाट अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रवाह सुरु गर्नु सकारात्मक कदम भएको बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले डिजिटल बैंकिङको युगलाई आत्मसात् गर्दै ग्राहकलाई थप प्रभावकारी सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । उनले आधुनिक प्रविधिमा आधारित सेवा विस्तारमार्फत ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने लक्ष्य लिइएको उल्लेख गरे ।
उद्घाटन कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी, हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, बैंकका प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल बैंकले अपाङ्गतामैत्री सेवासहित उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै क्षेत्रीय आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आधुनिक प्रविधि, दक्ष जनशक्ति र छिटोछरितो सेवामार्फत बैंक प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको जनाएको छ ।
अर्थ चाैतारी ।