काठमाण्डाै । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यसका लागि बैंकले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बैंकले २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना बनाएको हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ बराबरको सेयरमध्ये साविकका सेयरधनीका लागि दुई कित्ता बराबर एक कित्ता नयाँ सेयर जारी गरिनेछ ।
यसअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्ने जनाएको छ । प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ कायम गरिएको छ ।
बैंकले हकप्रद सेयर निष्काशनअघि आवश्यक सबै नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्काशन प्रक्रिया अघि बढाउने जनाएको छ । हकप्रद सेयरबाट संकलित रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात मजबुत बनाउन तथा दीर्घकालीन व्यवसाय विस्तार र रणनीतिक योजना कार्यान्वयनमा उपयोग गरिनेछ ।
हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा बैंकका प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
अर्थ चाैतारी ।