काठमाण्डौ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि २५ करोड रुपैयाँ विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि २५ करोड रुपैयाँ समावेश भएको हो ।
विमानस्थलको धावन मार्गलाई २ हजार ५०० मिटरसम्म विस्तार गर्न जग्गा व्यवस्थापनसहित अन्य पूर्वाधार व्यवस्थापन गर्न उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका सांसद कमल सुवेदीले बताए । उनका अनुसार विमानस्थललाई बहुवर्षीय योजना बनाएर स्तरवृद्धि गरिनेछ ।
‘विमानस्थलमा विगतमा ठूलो बजेट आउन सकेको थिएन । जसले गर्दा उक्त विमानस्थल विस्तार हुन सकेको थिएन । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर मात्रै हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले यहाँ १९ सिटे ट्विनअटर मात्रै अवतरण गर्छ । हप्तामा चार दिन उडान भर्ने भनिए पनि नियमित हुन सकेको छैन,’ सांसद सुवेदीले भने ।
स्थानीयस्तरबाट यात्रुले सहज सेवा प्राप्त गर्न सकून् भनेर बजेट व्यवस्थापनका लागि पहल गरिएको उनको भनाइ छ । धावनमार्ग विस्तार गरेमा ठूला जहाज बस्ने र नियमित उडान भर्न सक्ने भन्दै यस क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिले पटकपटक पहल गर्दै आएका थिए ।
टरिगाउँमा नियमित हवाई उडान नहुँदा यस क्षेत्रका यात्रु नेपालगञ्ज वा भैरहवा जाने गरेका छन् । टरिगाउँ विमानस्थल २०११ सालमा स्थापना भएको हो ।
अर्थ चाैतारी ।