काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबिच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बरका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
जमलस्थित चेम्बर भवनमा आयोजित एक कार्यक्रमका बिच चेम्बरका स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ र मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
एक वर्षका लागि लागू हुने यो सम्झौता अनुसार चेम्बरका कार्यसमिति सदस्य, कर्मचारी र तिनका परिवारले नेपाल मेडिसिटीमा उपचार गराउँदा विशेष स्वास्थ्य सेवा र सहुलियत पाउनेछन्। सहुलियत पाउने आश्रित परिवारभित्र पति वा पत्नी, बाबुआमा र २२ वर्षमुनिका दुई सन्तान पर्नेछन्।
सम्झौता अनुसार नेपाल मेडिसिटीले अस्पतालको भर्ना (इनपेसेन्ट) तथा बाह्यरोगी (ओपिडी) सेवामा १० प्रतिशत छुट प्रदान गर्नेछ। तर औषधि, उपभोग्य सामग्री, इम्प्लान्ट, प्याकेज सेवा र बाह्य परीक्षणमा भने यो छुट लागू हुने छैन। यसैगरी बीमामार्फत प्रत्यक्ष क्यासलेस सेवा प्राप्त हुने अवस्थामा पनि छुट सुविधा नपाइने व्यवस्था गरिएको छ। यस सहकार्य अन्तर्गत मेडिसिटी अस्पतालले चेम्बरका सदस्य तथा कर्मचारीहरूका लागि वर्षमा दुई पटक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने, बेसिक लाइफ सपोर्ट (बिएलएस) तालिम प्रदान गर्ने, विशेष स्वास्थ्य प्याकेज उपलब्ध गराउने तथा रक्तदान कार्यक्रम आयोजना गर्ने सहमति पनि भएको छ। दुवै संस्थाले सेवा प्रवाह र समन्वयका लागि सम्पर्क व्यक्ति तोक्ने तथा सूचनाको गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।
अर्थ चाैतारी ।