logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, के चाहिन्छ योग्यता ?

    नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, के चाहिन्छ योग्यता ?

    273
    SHARES
    नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, के चाहिन्छ योग्यता ?

    काठमाण्डौ । सरकारले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ ।



    अर्थ मन्त्रालय अन्तर्गतको ‘कार्यकारी निर्देशक छनोट तथा सिफारिस समिति’ ले बिहीबार एक सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो ।

    प्रकाशित सूचना अनुसार, इच्छुक उम्मेदवारले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र अर्थात् आगामी २०८३ असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    आवेदन फाराम र आवश्यक कागजातहरू अर्थ मन्त्रालय, सिंहदरबारस्थित वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सिलबन्दी गरी बुझाउनुपर्नेछ ।

    कार्यकारी निर्देशक पदका लागि आवेदन दिने उम्मेदवारको योग्यता ‘नागरिक लगानी कोष ऐन, २०४७’ र ‘अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ बमोजिम हुनुपर्नेछ ।

    उम्मेदवारले दरखास्तका साथ आफ्नो शैक्षिक योग्यता, अनुभवका कागजात, नागरिकताको प्रतिलिपि र वैयक्तिक विवरण पेस गर्नुपर्नेछ ।

    छनोट प्रक्रियालाई प्रभावकारी बनाउन उम्मेदवारले कोषको सुधार र विकासका लागि बढीमा ५ हजार शब्दको ‘व्यावसायिक कार्य योजना’ समेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्रारम्भिक छनोट (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूले उक्त कार्य योजनाको प्रस्तुतीकरण समेत गर्नुपर्ने सूचनामा उल्लेख छ ।

    दरखास्तका लागि ५ हजार रुपैयाँ दस्तुर तोकिएको छ, जुन राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको मन्त्रालयको राजस्व खातामा जम्मा गर्नुपर्नेछ । नियुक्त हुने कार्यकारी निर्देशकको सेवा सुविधा र पारिश्रमिक दुई पक्षबीच हुने करार सम्झौता बमोजिम निर्धारण गरिने जनाइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट