logo

२०८३ असार २३, मंगलबार

logo
  • २०८३ असार २३, मंगलबार
  • ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली अघि बढ्यो, सन् २०३३ भित्रै बिजुली उत्पादन गर्ने लक्ष्य

    ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली अघि बढ्यो, सन् २०३३ भित्रै बिजुली उत्पादन गर्ने लक्ष्य

    78
    SHARES
    ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली अघि बढ्यो, सन् २०३३ भित्रै बिजुली उत्पादन गर्ने लक्ष्य

    काठमाण्डौ । व्यावसायिक घराना गोल्यान समूहले निजी क्षेत्रकै ठूलो जलविद्युत आयोजनाका रूपमा ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली अर्धजलाशययुक्त आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ। गोल्यान समूहको सहायक कम्पनी एलिभेट इनर्जीमार्फत अघि बढाइएको यस आयोजनाको उत्पादन अनुमति पत्र (जेनेरेसन लाइसेन्स) का लागि विद्युत् विकास विभागले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै प्रक्रिया अगाडि बढाएको हो। सन् २०२० (२०७७ साल) मा सर्भे लाइसेन्स पाएको कम्पनीले आगामी सन् २०३३ को अगस्टभित्रै व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।



    कर्णाली प्रदेशको मुगु जिल्लास्थित मुगुम कर्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिका भई बहने मुगु कर्णाली नदीको पानी उपयोग गर्ने गरी यो आयोजना प्रस्ताव गरिएको हो। अमेरिकी बैंक डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) को अनुदान सहयोगमा जर्मनीको ट्र्याकबेल इन्जिनियरिङले यसको सम्भाव्यता अध्ययन गरिरहेको छ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन अर्यालका अनुसार चालु वर्षको अन्त्यसम्ममा आउने अन्तिम प्रतिवेदनका आधारमा आयोजनाको वास्तविक क्षमता निक्र्यौल हुनेछ। आन्तरिक खपतका लागि मात्र भए क्षमता घटाउन सकिने र भारततर्फ निर्यात गर्ने अवस्थामा ३०६ मेगावाटमै निर्माण गरिने कम्पनीको योजना छ।

    आयोजनास्थलमा करिब ४ किलोमिटर ड्रिलिङ, ४०० मिटरको परीक्षण सुरुङ (टेस्ट टनेल) र चट्टान परीक्षण (रक मेकानिकल टेस्ट) जस्ता प्राविधिक कामहरू सम्पन्न भइसकेका छन्। आयोजनाको डिजाइन र हेडवक्र्सको मोडेल अध्ययन पुल्चोक इन्जिनियरिङ क्याम्पस नजिकै रहेको हाइड्रोल्याबमा भइरहेको छ।

    निकुञ्जको कोर एरियामा नपरी बफर जोन (मध्यवर्ती क्षेत्र) मा मात्र पर्ने भए पनि नीतिगत अस्पष्टता र प्रशासनिक ढिलासुस्तीका कारण वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत हुन भने केही समय लागेको सीईओ अर्यालले बताए।

    प्रस्तावित आयोजनाबाट वार्षिक औसत १६२९.२५ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान छ। यसका मुख्य भौतिक संरचनाहरू मुगु कर्णाली नदीको बायाँ किनारमा रहनेछन्, जसमा ६२ मिटर लम्बाइ र २७ मिटर उचाइको ब्यारेज, १६ हजार २८७ मिटर लम्बाइको हेड्रेस टनेल र सतहमा रहने विद्युत गृह (पावर हाउस) रहनेछन्।

    उत्पादित विद्युतलाई ५५ किलोमिटर लम्बाइको ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेशनमा जोडिनेछ। सार्वजनिक सुनुवाइ लगायतका काम २ वर्षअघि नै सकिएकाले कम्पनीले अब विभागमा प्राविधिक प्रस्तुतीकरण दिने तयारी गरिरहेको छ।

    ऊर्जा क्षेत्रमा गोल्यान ग्रुपको आक्रामक लगानी
    ऊर्जा क्षेत्रमा आक्रामक रूपमा प्रस्तुत भइरहेको गोल्यान ग्रुपको पोर्टफोलियोमा हाइड्रो र सोलार गरेर ७०० मेगावाटभन्दा बढीका आयोजनाहरू छन्। जसमध्ये जलविद्युततर्फ ५२० मेगावाटको पोर्टफोलियो छ, जसमा ३६ मेगावाटको बलेफी सञ्चालनमा र ४६ मेगावाटको अपर बलेफी निर्माणाधीन अवस्थामा छन्। त्यस्तै, २० मेगावाटको सोलार आयोजना सञ्चालनमा आइसकेको छ भने नेपाल विद्युत प्राधिकरणको प्रतिस्पर्धात्मक बोलकबोलमार्फत प्राप्त १७० मेगावाट कोटामध्ये रोल्पामा ५० मेगावाटको सोलार प्लान्ट अघि बढाइँदै छ।


    अर्थ चाैतारी
  • मंगलबार, २३ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट