काठमाण्डौ । जिल्ला अदालत काठमाण्डौले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकामध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित अधिकांश अभियुक्तहरूलाई दोषी ठहर गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा सुनुवाइ गर्दै रायमाझी, पाण्डेसहित मुख्य योजनाकारहरू सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, डा. इन्द्रजीत राई र आङटावा शेर्पालाई संगठित अपराध र राज्यविरुद्धको एकीकृत कसुरमा दोषी ठहर गरेको हो।
त्यसैगरी अदालतले बेचन झालाई ठगीमा, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई ठगी तथा संगठित अपराधको मतियारसहित दोषी, शम्सेर मियाँ र नरेन्द्र केसीलाई ठगी तथा संगठित अपराधको मतियारमा दोषी ठहर गरेको छ भने केशव तुलाधर, हरिभक्त महर्जन, मोहनराज राई र निरञ्जन कुमार खरेललाई पनि ठगी तथा संगठित अपराधको मतियारका रूपमा दोषी करार गरेको छ।
यसैगरी अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै ७ जना अभियुक्तहरूलाई भने सबै आरोपबाट पूर्ण सफाइ दिएको छ। सफाइ पाउनेहरूमा पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी दोषी ठहर भए पनि टंककुमार गुरुङ, रामशरण केसी, आशिष बुढाथोकी र लक्ष्मी महर्जन रहेका छन्।
त्यस्तै हाई–प्रोफाइलतर्फ टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा र अर्का अभियुक्त केशव तुलाधरले पनि अदालतबाट सफाइ पाएका छन्।
तीन वर्षअघि सुरु भएको यस प्रकरणमा लामो समयको अनुसन्धान, थुनछेक बहस र उच्च अदालतसम्मको कानुनी प्रक्रियापछि जिल्ला अदालतले यो अन्तिम फैसला सुनाएको हो।
अदालतले दोषी ठहर भएका अभियुक्तहरूको सजाय निर्धारणका लागि भने छुट्टै सुनुवाइ मार्फत फैसला गर्ने तयारी गरेको छ।
अर्थ चाैतारी ।