logo

२०८३ असार २४, बुधबार

logo
  • २०८३ असार २४, बुधबार
  • ‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’

    ‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’

    143
    SHARES
    ‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’

    काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री भएको १०० दिन पुगेपछि पहिलो पटक निजी क्षेत्रसँग छलफल गरेका छन् । प्रधानमन्त्री शाहले प्रधानमन्त्री भएपछि पहिलो पटक निजी क्षेत्रसँग दुई घण्टा लामो छलफल गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले करिब दुई घण्टा निजी क्षेत्रका प्रतिनिधिहरूको कुरा सुने ।



    प्रधानमन्त्री शाहले मुलुकको सुस्त अर्थतन्त्रलाई गति दिन र निजी क्षेत्रको गिरेको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताए । निजी क्षेत्रका तीन ठुला छाता सङ्गठनका प्रतिनिधिहरूसँगको औपचारिक भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर सरकार अघि बढ्ने स्पष्ट पारेका थिए ।

    उक्त छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालको सहभागिता थियो। प्रधानमन्त्रीसँगको भेटपछि निजी क्षेत्र निकै उत्साहित देखिएको छ । उक्त भेटमा व्यवसायीहरूले पछिल्लो समय उद्यमीहरूमाथि भइरहेको धरपकड र अमर्यादित व्यवहारको विषयमा चासो राखेको चेम्बरका अध्यक्ष कमलेश अग्रवालले जानकारी दिए ।

    उनका अनुसार निजी क्षेत्रको कुरा सुनेपछि जवाफमा प्रधानमन्त्री शाहले सरकारको नीति कसैलाई तर्साउने वा दुख दिने नरहेको प्रस्ट पारे । चेम्बरका अध्यक्ष अग्रवालका अनुसार प्रधानमन्त्रीले भने, ‘हाम्रो इन्टेन्सन (नियत) कसैलाई समातेर भित्र कोच्ने भन्ने होइन । उद्यमीलाई पक्रेर कतै पुगिँदैन, हाम्रो उद्देश्य त औद्योगिक वातावरण बनाउनु हो ।’

    अध्यक्ष अग्रवालले प्रधानमन्त्रीसँगको भेटपछि निजी क्षेत्रमा रहेको ५० प्रतिशत निराशा हटेको दाबी गरे । ‘प्रधानमन्त्री भएदेखि १०० दिनसम्म भेट नपाउँदा निजी क्षेत्र प्रधानमन्त्रीको निजी क्षेत्र प्रति दृष्टिकोण बुझ्न नपाउँदा धेरै अन्योल थियो,अध्यक्ष अग्रवालले भने,‘ भेटमा प्रधानमन्त्रीले गरेको प्रतिबद्धता र आश्वासनले व्यवसायीहरू उत्साहित भएका छौँ ।’

    चेम्बरका अध्यक्ष अग्रवालले प्रधानमन्त्री आर्थिक वृद्धिप्रति निकै गम्भीर देखिएको बताए । प्रधानमन्त्रीले आगामी ५ वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको र त्यसका लागि निजी क्षेत्रबाट थ्योरेटिकल भन्दा पनि व्यावहारिक समाधानका उपायहरू माग गरेका बताए। ‘कुन ठाउँमा के गर्दा राम्रो हुन्छ, स्पष्ट र ठोस कुरा ल्याउनुस्, हामी ऐन–कानुन सुधार्न तयार छौँ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै अध्यक्ष अग्रवालले भने ।भेटमा सहभागी चेम्बरका उपाध्यक्ष दीपक मल्होत्राले पनि अर्थतन्त्रका विविध आयामबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए ।

    उनले उद्योगहरूका लागि जग्गा हदबन्दीको समस्या समाधान गर्नुपर्ने, सीमा नाकाबाट हुने अनाधिकृत व्यापार नियन्त्रण गर्नुपर्ने,सार्वजनिक–निजी साझेदारी र सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्नुपर्ने मागहरू राखेको बताए । उनले आरोप प्रमाणित नभएसम्म व्यवसायीलाई थुन्न नपाइने कानुनी व्यवस्था हुनुपर्ने व्यवसायीको प्रधानमन्त्रीसँग माग राखेको बताए । त्यस्तै, नेपाल उद्योग परिसंघका कार्यकारी अधिकृत घनश्याम ओझाले छलफलमा निजी क्षेत्रको मनोबल उकास्ने विषयलाई प्रमुख प्राथमिकताका साथ उठेको बताए ।

    उनले उद्योगहरूका लागि जग्गा हदबन्दीको समस्या समाधान गर्नुपर्ने, सीमा नाकाबाट हुने अनाधिकृत व्यापार नियन्त्रण गर्नुपर्ने,सार्वजनिक–निजी साझेदारी र सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्नुपर्ने मागहरू राखेको जानकारी दिए । उनले निजी क्षेत्रको जवाफमा प्रधानमन्त्री शाहले निजी क्षेत्रका जायज मागलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरे । प्रधानमन्त्रीसँगको भेटको वातावरण बनाउने रास्वपा सांसद विदुषी राणा पनि सहभागी थिइन् । उनले पनि प्रधानमन्त्रीसँगको भेटपछि निजी क्षेत्र उत्साहित देखिएको बताइन् ।

    उनले प्रधानमन्त्री शाहले निजी क्षेत्रका सबै विषयलाई सकारात्मक रूपमा करिब दुई घण्टासम्म सुनेर छलफलमा सहभागी भएको उल्लेख बताइन् । सांसद रानाले भनिन्,‘ प्रधानमन्त्री निजी क्षेत्रका प्रतिनिधिहरूले उठाएका जायज मागलाई सरकार कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जानकारी गराए। प्रधानमन्त्रीेले सरकारको पहिलो ध्यान सुशासन सहितको आर्थिक वृद्धि भएको भन्दै आर्थिक वृद्धि, रोजगारी सिर्जना र उद्योग व्यवसायी विस्तारको लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको जानकारी गराउनु भयो ।’

    रानाका अनुसार प्रधानमन्त्रीले मुलुकमा सुशासन र समृद्धि ल्याउनको लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका थिए । प्रधानमन्त्री शाहले निजी क्षेत्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र समृद्ध मुलुक बनाउनको लागि अपरिहार्य रहेको बताएका उनको भनाई थियो । उनका अनुसार प्रधानमन्त्री शाहले प्रधानमन्त्री कार्यालयमै निजी क्षेत्रको समस्या र गुनासो सुन्नको लागि छुट्टै ‘डेस्क’ स्थापना गर्ने भएको छ । निजी क्षेत्रका व्यावहारिक समस्याहरूलाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयमै एउटा छुट्टै स्थापना गर्न प्रधानमन्त्री सकारात्मक भएका छन् ।

    आर्थिक वृद्धि, लगानी, उत्पादन विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिकाप्रति प्रधानमन्त्रीको स्पष्ट प्रतिबद्धता र सकारात्मक दृष्टिकोणले सहभागीहरूलाई उत्साहित बनाएको उनको भनाइ छ। प्रधानमन्त्रीले निजी क्षेत्रका कुरा अत्यन्त ध्यानपूर्वक सुन्नुभयो। उहाँको आर्थिक वृद्धि, उत्पादन, लगानी र रोजगारीप्रतिको स्पष्ट दृष्टिकोणले निजी क्षेत्रलाई नयाँ आशा र उत्साह दिएको छ, सांसद विदुषी राणाले जानकारी दिइन् ।

    निजी क्षेत्र उत्साहित

    केही समयदेखि निजी क्षेत्रको मनोबल कमजोर भएको अवस्थामा आजको संवादले नयाँ आशा, विश्वास र उत्साह थपेको छ । निजी क्षेत्र प्रधानमन्त्रीको आर्थिक विकाससम्बन्धी दृष्टिकोण र सहकार्यको भावनाप्रति सकारात्मक तथा आशावादी रहेको निजी क्षेत्रले बताएको छ ।

    भेटपछि प्रतिक्रिया दिँदै व्यवसायीहरूले प्रधानमन्त्रीको बडी ल्याङ्ग्वेज र कुरा सुन्ने शैलीबाट आफूहरू निकै सकारात्मक बनेको बताए । डेढ घण्टाको बसाइमा प्रधानमन्त्रीले करिब २५ मिनेट व्यवसायीका कुरा ध्यानपूर्वक सुन्नुभएको थियो । ‘ आजको भेटघाटले संवादको ढोका खोलेको छ ,‘ चेम्बर वरिष्ठ मल्होत्राले भने,‘ प्रधानमन्त्रीज्यूले अर्थतन्त्रको शिथिलता अन्त्य गर्न सरकार एकदमै सक्रिय भएर लाग्ने र हामीसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

    त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका उद्योग समिति सभापति उज्ज्वलकुमार श्रेष्ठले पनि प्रधानमन्त्रीसँगको छलफलले व्यवसायीहरूमा नयाँ उत्साह र आशा जगाएको बताए । उनले प्रधानमन्त्री शाहसँगको भेटमा मुख्यतया मुलुकको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले सामना गरिरहेका चुनौती र तिनको दीर्घकालीन समाधानका उपायहरूमा केन्द्रित थियो।

    ‘हामीले निजी क्षेत्रका समस्या र सम्भावित समाधानका बारेमा खुला रूपमा कुरा राख्न पायौँ,‘ श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यू पनि निकै सकारात्मक देखिनुभएको छ । उहाँले निजी क्षेत्रसँगको संवादलाई अझ प्रभावकारी र नियमित बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।’ प्रधानमन्त्रीले दीर्घकालीन आर्थिक रणनीति ल्याउने र निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने सरकारको सोच रहेको श्रेष्ठले उल्लेख गरे ।


    अर्थ चाैतारी
  • बुधबार, २४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट