काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इन्कले आफ्नो प्लेटफर्म स्प्रिङबेस एआई (springbase.ai) मा नयाँ बहुभाषिक ‘भ्वाइस–टु–एजेन्ट’ (Voice-to-Agent) सुविधा सार्वजनिक गरेको छ । यस प्रविधिमार्फत प्रयोगकर्ताले बोलेका विचारहरूलाई प्राकृतिक संवादका माध्यमबाट अनुसन्धान, योजना, वेबसाइट, एप तथा प्रतिवेदन जस्ता डिजिटल नतिजामा रूपान्तरण गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो सुविधा परम्परागत भ्वाइस असिस्टेन्टभन्दा फरक र परिष्कृत छ । सामान्य संवादमा मात्र सीमित नरही यसले प्रयोगकर्ताको उद्देश्य बुझेर चरणबद्ध रूपमा काम सम्पन्न गर्दछ । नेपालीलगायत १५० भन्दा बढी भाषा सपोर्ट गर्ने यस प्रविधिले प्रयोगकर्तालाई आफ्नै मातृभाषामा संवाद गर्दै अनुसन्धान, योजना निर्माण, सामग्री विकास तथा डिजिटल उत्पादन तयार गर्न सहज बनाउनेछ ।
प्रयोगकर्ताले आफूले बनाउन चाहेको विषय बोलेर व्यक्त गरेपछि स्प्रिङबेस एआईले त्यसलाई विश्लेषण गरी अन्तरक्रियात्मक प्रस्तुतीकरण, तस्बिर, अनुसन्धान प्रतिवेदन, कार्यशील वेबसाइट, एप्लिकेसन तथा स्वचालित कार्यप्रवाहमा रूपान्तरण गर्नेछ ।
“हामीले संवाद गर्ने एआईभन्दा अगाडि बढेर प्रयोगकर्ताको विचारलाई प्रत्यक्ष कार्यान्वयनमा रूपान्तरण गर्ने नयाँ अनुभव विकास गरेका छौँ,” स्प्रिङबेस एआईका सह–संस्थापक भरत गोल्छाले भने, “हाम्रो प्लेटफर्मले प्रत्येक निर्णयको आधार र प्रक्रिया स्पष्ट रूपमा प्रस्तुत गर्ने भएकाले प्रयोगकर्ताले एआईले कसरी काम गरिरहेको छ भन्ने सहजै बुझ्न सक्छन् । अब जुनसुकै व्यक्तिले आफ्नो मातृभाषामै चाहेको कुरा वर्णन गरेर उन्नत डिजिटल समाधान सिर्जना गर्न सक्नेछन् ।”
यो बहुभाषिक भ्वाइस सुविधा विश्वभर springbase.ai मार्फत उपलब्ध भइसकेको छ । प्लेटफर्ममा यसअघि उपलब्ध एआई कार्यप्रवाह, प्रतिवेदन निर्माण, बैठक रेकर्डिङ, ट्रान्सक्रिप्सन लगायतका उत्पादकत्वसम्बन्धी सेवाहरू पनि यथावत् रहने कम्पनीले जनाएको छ । यी सेवाहरू प्रोफेसनल तथा संस्थाहरूका लागि करसहित प्रतिमहिना १ हजार ४ सय ९९ रुपैयाँमा उपलब्ध छन् ।
अर्थ चाैतारी ।