काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबरा बसेको बैठकले नियुक्ति, शुल्क छुट र छानबिन समिति गठन सहितका ६ वटा निर्णय गरेको जानकारी दिए ।
बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको छ । त्यसैगरी, गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्र राज कुँवरलाई नियुक्त गरिएको छ ।
सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रोत्साहन गर्न विशेष सहुलियतको घोषणा गरेको छ । २०८५ साल भदौ मसान्तसम्मका लागि ती विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय बैठकले गरेको पोखरेलले बताए ।
यसैगरी मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले यसअघि भएको सम्झौतालाई अनुमोदन गरेको छ । यो निर्णयसँगै मिटरब्याजसँग सम्बन्धित सबै फर्जी लिखतहरू (तमसुक) आजकै मितिदेखि अवैध घोषणा भएका छन् । यस्तै, गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा एक न्यायिक समिति गठन गरिएको छ ।
बैठकले नागरिकलाई राहत दिने गरी शिक्षा र स्वास्थ्य क्षेत्रको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय समेत गरेको छ । प्रवक्ता पोखरेलले मन्त्रिपरिषद्बाट यो निर्णय औपचारिक रूपमा पारित भइसकेकाले अब कुनै पनि विद्यालय वा अस्पतालले यस्तो शुल्क लिन नपाउने बताए । उनले मिटरब्याजका सम्बन्धमा साहु महाजनका गुनासाहरू आए पनि सरकारले पीडितसँग भएको पुरानै समझदारीलाई कार्यान्वयन गर्ने स्पष्ट पारे ।
बैठका मुख्य निर्णयहरुः
१. विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने । श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश श्री दीपेन्द्र अधिकारीलाई तोक्ने ।
२. गुठी संस्थानको प्रशासक पदमा श्री शैलेशराज कुँवरलाई नियुक्त गर्ने ।
३. २०८५ साल भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने ।
४. अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति, र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबिच मिति २०८३ साउन १ गते भएको सम्झौता अनुमोदन गर्ने । सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजसँग सम्बन्धित फर्जी लिखितहरु आजैका मितिदिेखि अवैध घोषणा गर्ने।
५. गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने ।
६. आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने ।
अर्थ चाैतारी ।