logo

२०८३ साउन ६, बुधबार

logo
  • २०८३ साउन ६, बुधबार
  • वाणिज्य बैंकहरूमा अग्रिम बोनसको लहर: नबिलका कर्मचारीले पाए ३ महिनाको तलब, ५ बैंकले भने नदिने

    वाणिज्य बैंकहरूमा अग्रिम बोनसको लहर: नबिलका कर्मचारीले पाए ३ महिनाको तलब, ५ बैंकले भने नदिने

    390
    SHARES
    वाणिज्य बैंकहरूमा अग्रिम बोनसको लहर: नबिलका कर्मचारीले पाए ३ महिनाको तलब, ५ बैंकले भने नदिने

    काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ समाप्त भएसँगै वाणिज्य बैंकहरूले गत वर्षको खुद मुनाफाबाट आफ्ना कर्मचारीहरूलाई धमाधम अग्रिम बोनस वितरण गर्न थालेका छन्। बोनस ऐन, २०३० को दफा ५ अनुसार खुद मुनाफाको १० प्रतिशत रकम कर्मचारीका लागि छुट्याउनुपर्ने कानुनी व्यवस्थालाई टेकेर बैंकहरूले साउनको पहिलो साता नै अग्रिम बोनस पठाउने परम्परा कायम राखेका हुन्।

    यस वर्ष नबिल बैंक आफ्ना कर्मचारीलाई सबैभन्दा धेरै ३ महिनाको तलब बराबरको अग्रिम बोनस दिएर अगाडि देखिएको छ। वाणिज्य बैंकहरूबीच अग्रिम बोनस वितरणको दर फरक-फरक देखिएको छ। सानिमा, एनएमबि र सिद्धार्थ बैंकले आफ्ना कर्मचारीहरूलाई साउन पहिलो साता नै २ महिनाको तलब बराबरको अग्रिम बोनस खातामा पठाइसकेका छन्।

    त्यसैगरी, कुमारी र ग्लोबल आईएमई बैंकले भने कर्मचारीहरूलाई डेढ महिनाको तलब बराबरको अग्रिम बोनस वितरण गरेका छन्। नाफाका आधारमा यी बैंकहरूका कर्मचारीले थप बोनस पाउने अवस्था रहे पनि हाल अग्रिम रूपमा आधा रकम दिइएको र बाँकी अंश बाह्य लेखापरीक्षण एवं नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि साधारणसभाका बेला प्रदान गरिने बैंक स्रोतहरूले जनाएका छन्।

    बजारमा अग्रिम बोनसको उत्साह छाइरहँदा केही बैंकहरूले भने यसपटक कर्मचारीलाई अग्रिम बोनस नदिने निर्णय गरेका छन्। एनआईसी एशिया, प्रभु, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्सियल बैंकले साउनमा अग्रिम बोनस नबाँड्ने भएका हुन्।

    एनआईसी एशिया, प्रभु, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निष्कृय कर्जा (एनपीएल) बढेका कारण कर्जा नोक्सानी व्यवस्था (प्रभिजनिङ) उच्च गर्नुपरेको र सञ्चित नोक्सानीका कारण तत्काल बोनस नछुट्याइएको हो। यी बैंकहरूले बाह्य लेखापरीक्षण र राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृति पाएपछि मात्र आफ्नो क्षमताअनुसार बोनस वितरण गर्ने रणनीति लिएका छन्।

    उता लक्ष्मी सन्‌राइज बैंकका कर्मचारीहरूले भने अग्रिम बोनसका लागि साउन १५ गतेसम्म कुर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म उठ्नुपर्ने ब्याज साउन १५ गतेभित्र असुल भएमा गत आर्थिक वर्षकै नाफामा गणना गर्न पाउने सुविधा दिएकाले बैंकहरू असुली ताकेतामा जुटेका छन्। साउन १५ सम्म उठ्ने ब्याजलाई समेत समावेश गरी अन्तिम वित्तीय विवरण तयार पारेपछि मात्रै कर्मचारीलाई अग्रिम बोनस पठाउने तयारी लक्ष्मी सन्‌राइज बैंकले गरेको छ।

    स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट लगायतका बैंकहरूले भने साउनमा अग्रिम बोनस दिने परम्पराभन्दा भिन्न नीति अवलम्बन गर्दै आएका छन्। ती बैंकहरूले दशैँअघि साधारणसभा सम्पन्न भएमा सोही समयमा वा राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि दशैँ बिदाअघि मात्रै एकैपटक बोनस वितरण गर्ने गरेका छन्।

    समग्रमा, राष्ट्र बैंकको नियामकीय कडाइ, खराब कर्जाको व्यवस्थापन र ब्याज असुलीको अवस्थाले यस वर्ष वाणिज्य बैंकहरूमा अग्रिम बोनस वितरणको प्रकृति र दर फरक-फरक बन्न पुगेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ६ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट