काठमाण्डौ । महिन्द्राकाे लाइफस्टायल एसयूभी ७०० आज नेपाली बजारमा सार्वजनिक गरेकाे छ । महिन्द्राको नेपालकाे लागि आधिकारिक विक्रेता अग्नी इनकर्पोरेटले आयात प्रतिबन्ध हटेसँगै पहिलो भेहिकलकाे रुपमा एक्सयूभी ७०० सार्वजनिक गरेकाे हाे ।
आज सार्वजनिक गरेकाे एक्सयूभी ७०० को सुरुवाती मूल्य ७४ लाख रहेकाे छ भने, विभिन्न ६ भेरियन्टमा आउने एक्सयूभी ७०० को टप भेरियन्टको मूल्य भने १ करोड १० लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएकाे छ । एक्सयूभीको वेस भेरियन्ट एएक्स ३ को मूल्य ७४ लाख, एएक्स५ को ८१ लाख र अर्काे एएक्स५ सात सिटरको ८३ लाख रुपैयाँ निर्धारण गरेकाे छ ।
त्यस्तै, एक्सयूभी ७०० एएक्स ५ अटोमेटीक ५ सिटरको मूल्य ८९ लाख र एएक्स ७ मेनुअलको मूल्य १ करोड ५ लाख र एएक्स ७ अटोमेटीकको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरेकाे हाे । साथै कम्पनीले हालै बुकिङ् गर्नेलाई आगामी फेब्रअरी मध्यसम्मा डेलिभरी दिने जनाएको छ ।

यस्तो छ एक्सयूभी ७००
महिन्द्राले अहिलेसम्म बजारमा ल्याएको मध्य सबैभन्दा धेरै हाइटेक फिचर पाउन सकिने एक्स्यूभी ७०० मा ‘एड्रिनोएक्स’ कनेक्ट फिचर पाउन सकिन्छ । बोस्च इन्डियाले उत्पादन गरेको यो सिस्टम निकै नविनतम र प्रयोग गर्न सजिलो रहेको महिन्द्राको दावी छ ।
एड्रिनोएक्स कनेक्ट सिस्टमको कारण यसमा थुप्रै यूनिक सुरक्षा फिचरहरु उपलब्ध रहेको छ । यही सिस्टमको कारण चालकलाई सधैँ सजग गराउन मद्दत पुग्ने छ । यदि चालक निदाउन लागेको छ भने पनि सिस्टमले उसलाई निर्देश गर्नेछ । उच्च गतिमा गाडी गुडाउन पनि यो सिस्टमले चालकलाई दिने छैन । बोस्चले चालकलाई निन्द्रा लागेको पत्ता लगाउने प्रविधि प्रयोग गरेको यो सेग्मेन्टमा नै पहिलो एसयूभी भएको जनाएको छ । उक्त सिस्टमले चालकको बानी व्योहोरालाई राम्रोसँग विष्लेषण गरेर बेला बखतमा वार्निङ गरिरहने छ ।

यात्रालाई आरामदायी र मनोरन्जनात्मक बनाउन मोवाइल कनेक्ट, सिमकार्ड बिनाको नेभिगेशन, रिमोर्ट स्टार्टरस्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोवाइल एप र स्मार्टवाचवाट भेहिकल कन्ट्रोल जस्ता फिचर पनि यसमा समावेस भएका छन् । महिन्द्राले एक्सयूभी-७०० नेपाली बजारमा ५ र ७ सिट क्षमतामा ल्याएकाे छ । कम्पनीले यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिन दिएकाे छ । पावरफुल पेट्राेल इन्जिन रहेकाे एक्सयूभी ७०० जस्तोसुकै बाटोको लागि उपयुक्त हुनेछ । यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस पावर तथा ३८० एनएम टर्क प्रदान गर्छ ।
सुरक्षाको हिसावले पनि एक्सयूभी-७०० उत्कृष्ट रहेको छ । क्रयास टेष्टमा ५ स्टार रेटिङ पाएकाे एक्सयूभी ७०० ले सन् २०२२ को ग्लोवल एनक्यापले प्रदान गर्ने ‘सेफर च्वाइस अवार्ड’ जित्न सफल भएको छ । ग्लोबल एनक्यापले निर्धारण गरेको ६६ अंकमा ५७.६९ अंकसहित महिन्द्रा एक्सयूभी ७०० ले सेफर च्वाइस अवार्ड जित्न सफल भएको हो ।

एक्सयूभी ७०० को सुरुवाती भेरियन्टमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ भने, टप स्पेकमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । कम्पनीले यसलाई प्रिमियम बनाउन ६ वटासम्म स्पीकर, एलइडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील र पानारोमिक सनरुफ जस्ता फिचर प्रदान गरेर गाडीलाई लोभलाग्दो बनाएको छ ।
अर्थ चाैतारी ।