काठमाण्डौ । दोलखाको बिगु गाउँपालिकामा बन्ने ९९.८ मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजनाको स्रोत सुनिश्चित भएको छ । कुल २१ अर्ब लागत लगानीको आयोजना अघि बढाउन त्रिपक्षीय सम्झौता भएसँगै स्रोत सुनिश्चित भएको हो ।
आयोजनामा लगानी गर्न नेपाल विधुयुत प्राधिकरण, तामाकोसी जलविद्युत कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषबीच सम्झौता भएको छ । आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतको नेतृत्वमा त्रिपक्षीय सम्झौता भएको हो । आयोजनाका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले लगानीको स्रोत सुनिश्चित भएसँगै आयोजना अघि बढ्ने पक्का भएको बताए । आयोजनाबाट उत्पादित बिजुली माथिल्लो तामाकोसी आयोजनाले बनाएको २२० केभीको प्रशारणलाइनमा जोडिने समेत भण्डारीले बताए ।
आयोजनामा ब्याजसहित लाग्ने २१ अर्ब लागतमध्य ६५ प्रतिशत ऋण लगानी र ३५ प्रतिशत स्वपूजी रहने बताइएको छ । आयोजनाबाट उत्पादित बिजुली किन्न प्राधिकरणसँग विधुयुत खरिद सम्झौता भइसकेको छ ।
अर्थ चाैतारी ।