काठमाण्डौ । मुलुकको तरल राजनीतिक परिस्थितिका बीच प्रमुख कम्युनिष्ट घटक नेकपा (एमाले) र नेकपाबीच पुनः पार्टी एकताको गृहकार्य सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार भएको भेटवार्तापछि एकताको चर्चाले नयाँ मोड लिएको हो ।
पत्थरीको उपचारपछि ललितपुरस्थित अस्पतालमा आराम गरिरहेका एमाले अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड अस्पताल पुगेका थिए । त्यसअघि नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि ओलीसँग भेट गरी एकताको प्रस्ताव राखेका थिए ।
अस्पताल स्रोतका अनुसार ओली र प्रचण्डबीच करिब ४५ मिनेट ‘वान टु वान’ कुराकानी भएको छ । भेटमा दुई नेताले वर्तमान राजनीतिक संकट समाधानका लागि कम्युनिष्ट शक्तिहरू एकजुट हुनुको विकल्प नरहेको निष्कर्ष निकालेका छन् । छलफलमा एकता प्रक्रियालाई अगाडि बढाउन दुवै तर्फबाट नेताहरू सम्मिलित वार्ता टोली गठन गर्ने विषयमा समेत प्रारम्भिक सहमति भएको बुझिएको छ । एकताको चर्चासँगै एमालेभित्र दुई धार स्पष्ट देखिएको छ । एक पक्ष एकताका लागि दौडधुपमा रहँदा अर्को पक्षले भने यसको औचित्यमाथि प्रश्न उठाएको छ । एमालेका निवर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डेले विचार र सिद्धान्तविनाको एकताले पार्टीलाई थप क्षति पुर्याउने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो अस्तित्व जोगाउन । तर विचार विनाको एकताले पार्टीको मूल्य मान्यतालाई डाइल्युट मात्र गर्छ ।”
यता, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बढ्दो सक्रियताले पनि एमालेभित्रको आन्तरिक समीकरणमा हलचल पैदा गरेको छ । उनले आफ्नो सम्पर्क कार्यालयमा दैनिकजसो नेताहरूसँग रणनीतिक छलफल गरिरहेकी छन् । पार्टी एकता र नेतृत्व परिवर्तनको चर्चा चलिरहँदा एमाले महासचिव शंकर पोखरेलले भने यसलाई ‘भ्रामक एजेन्डा सेटिङ’ को संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जालमा चल्ने सस्तो टिकाटिप्पणीले समाजमा अविश्वास मात्र बढाउने भन्दै तथ्य जाँचेर मात्र धारणा बनाउन कार्यकर्तालाई आग्रह गरेका छन् ।
शीर्ष नेताहरू सकारात्मक देखिए पनि विगतको ‘तितो अनुभव’ र आन्तरिक वैचारिक मतभेदका कारण एकता प्रक्रिया कति सहज रूपमा अघि बढ्छ भन्नेमा राजनीतिक वृत्तमा आशंका भने कायमै छ ।
अर्थ चाैतारी ।