logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • लेबनान-इजरायल युद्धविराम लागू, इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको दाबी

    लेबनान-इजरायल युद्धविराम लागू, इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको दाबी

    65
    SHARES
    लेबनान-इजरायल युद्धविराम लागू, इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको दाबी

    वासिङ्टन डिसी । लेबनान र इजरायलबिच १० दिने युद्धविराम बिहीबारदेखि लागू भएको छ । यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको अर्को वार्ता यसै साताको अन्त्यमा हुन सक्ने बताउँदै इरानसँगको युद्ध पनि अन्त्यको नजिक पुगेको सङ्केत गरेका छन् ।



    ट्रम्पका अनुसार इरान २० वर्षभन्दा बढी समयसम्म आणविक हतियार नराख्न सहमत भएको छ । गत सप्ताहन्तमा पाकिस्तानको इस्लामाबादमा भएको वार्तामा तेहरानको आणविक महत्त्वाकाङ्क्षा नै मुख्य एजेन्डा बनेको थियो ।

    ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘अब के हुन्छ हामी हेर्छौँ । तर मलाई लाग्छ हामी इरानसँग सम्झौता गर्ने एकदमै नजिक छौँ ।’ त्यसको केही घण्टापछि नेभाडाको लस भेगासमा आयोजित एक कार्यक्रममा उनले युद्ध ‘निकै चाँडै अन्त्य हुनुपर्ने’ बताए ।

    गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणबाट सुरु भएको इरानसँगको युद्धमा हजारौँको ज्यान गइसकेको छ भने विश्वभर तेलको मूल्य अकासिएको छ । यसले अमेरिकी राष्ट्रपतिका लागि ठूलो राजनीतिक सङ्कट निम्त्याएको थियो ।

    लेबनानको युद्धविरामले इरानसँगको बृहत् शान्ति सम्झौताको बाटो खुला गरेमा त्यो ट्रम्प प्रशासनका लागि ठूलो उपलब्धि हुनेछ । ट्रम्प प्रशासन हालसम्म रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको स्ट्रेट अफ होर्मुज खुलाउन र इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सङ्घर्षरत छ ।

    बिहीबार मध्यरातमा युद्धविराम लागू हुँदा बेरुतका विभिन्न भागमा खुसियाली मनाउँदै हवाई फायर गरिएको थियो । तर यो शान्ति निकै कमजोर देखिएको छ । शुक्रबार बिहान लेबनानी सेनाले इजरायलले दक्षिण लेबनानका गाउँहरूमा गोलाबारी गरेर युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाएको छ । यद्यपि इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले एक्स (ट्विटर) मा पोस्ट गर्दै हिजबुल्लाहका लडाकुहरूको गतिविधिको जवाफमा सेना तैनाथ गरिएको दाबी गरे ।

    हिजबुल्लाहले बिहीबार रातभर इजरायलविरुद्ध गरेका सैन्य कारबाहीको लामो विवरण सार्वजनिक गरेको छ । जसमा अन्तिम आक्रमण राति ११:५० बजे अर्थात् युद्धविराम लागू हुनुभन्दा १० मिनेट अघि भएको उल्लेख छ ।

    ट्रम्पले सामाजिक सञ्जालमार्फत हिजबुल्लाहलाई युद्धविरामको सम्मान गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मलाई आशा छ कि हिजबुल्लाहले यस महत्त्वपूर्ण अवधिमा राम्रो व्यवहार गर्नेछ । यदि उनीहरूले त्यसो गरे भने त्यो उनीहरूका लागि ठूलो क्षण हुनेछ । अब थप हत्या हुनुहुँदैन । अन्ततः शान्ति हुनैपर्छ !’

    ट्रम्पले इरानसँग सम्झौता भएमा तेलको मूल्य, मुद्रास्फीति निकै तल झर्ने र आणविक सङ्कट टर्ने दाबी गरेका छन् । अमेरिका र इरानबिच गत साता भएको दुई साता लामो युद्धविराम लम्ब्याउनुपर्ने आवश्यकता नरहेको बताउँदै उनले तेहरान सम्झौता गर्न इच्छुक रहेको जिकिर गरे ।

    करिब चार साताको बमबारी र शक्तिशाली नाकाबन्दीको परिणाम स्वरूप अहिले इरानसँग निकै राम्रो सम्बन्ध रहेको ट्रम्पको भनाइ छ । अमेरिका-इरान युद्ध सुरु भएपछि इरान समर्थित हिजबुल्लाहले गत मार्च २ मा तेहरानको समर्थनमा आक्रमण सुरु गरेपछि इजरायल र लेबनानबीच १५ महिनापछि पुनः द्वन्द्व चर्किएको थियो ।

    ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र लेबनानी राष्ट्रपति जोसेफ आउनसँग ‘उत्कृष्ट कुराकानी’ भएको र उनीहरूलाई छिट्टै ‘अर्थपूर्ण वार्ता’ का लागि ह्वाइट हाउसमा निमन्त्रणा गर्ने योजना रहेको जानकारी दिए । यदि पाकिस्तानको इस्लामाबादमा इरानसँगको सम्झौतामा हस्ताक्षर हुने अवस्था आएमा आफू त्यहाँ जान सक्ने पनि ट्रम्पले बताएका छन् ।

    ट्रम्पले उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष ड्यान केनलाई इजरायल र लेबनानसँग स्थायी शान्ति स्थापनाका लागि काम गर्न निर्देशन दिएका छन् । उता इरानले लेबनान युद्धविरामलाई स्वागत गर्दै यो पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग भएको समझदारीको हिस्सा भएको बताएको छ ।

    विश्वको करिब पाँचौँ हिस्सा तेल र ग्यास आपूर्ति हुने स्ट्रेट अफ होर्मुज बन्द हुँदा इतिहासकै सबैभन्दा खराब तेल सङ्कट उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वव्यापी अर्थतन्त्रको प्रक्षेपणलाई घटाउँदै लामो द्वन्द्वले विश्वलाई मन्दीको सँघारमा धकेल्न सक्ने चेतावनी दिएको छ ।

    इस्लामाबाद वार्तामा अमेरिकाले इरानको सबै आणविक गतिविधि २० वर्षका लागि निलम्बन गर्ने प्रस्ताव राखेको थियो, जुन स्थायी प्रतिबन्धको पुरानो अडानबाट पछि हटेको सङ्केत हो । उता इरानले भने ३ देखि ५ वर्षको निलम्बन प्रस्ताव गरेको थियो ।

    अमेरिकाले अत्यधिक संवर्धित युरेनियम (एचइयु) इरानबाट हटाउन दबाब दिइरहेको छ भने इरानले आफूमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू फुकुवा हुनुपर्ने माग राखेको छ । अहिले इरान आफ्नो युरेनियमको केही भाग देशबाहिर पठाउन सहमत हुने सङ्केत देखिएको छ ।

    मुख्य पाकिस्तानी मध्यस्थकर्ता एवं सेना प्रमुख असिम मुनिर बुधबार तेहरान पुगेर जटिल विषयहरूमा सहमति जुटाउने प्रयास गरेका थिए । मुनिरको भ्रमणले दोस्रो चरणको वार्ता र युद्धविराम लम्बिने आशा जगाएको इरानी अधिकारीहरूले बताएका छन् ।

    यद्यपि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सम्झौता नभए सैनिकहरू युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । एक पाकिस्तानी सुरक्षा स्रोतका अनुसार अमेरिकाले प्रतिबन्ध हटाउन र इरानको अर्बौं डलरको सम्पत्ति फुकुवा गर्न प्रस्ताव गरिरहेको छ ।

    तर इरानले भने स्थायी युद्धविराम र भविष्यमा अमेरिका तथा इजरायलले पुनः आक्रमण नगर्ने संयुक्त राष्ट्रसङ्घको ग्यारेन्टी पछि मात्र स्ट्रेट अफ होर्मुज खुलाउने अडान लिएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट