काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिकल, सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी प्राविधिक तालिम शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ। टोयोटाको नेपालका आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिको प्राविधिक सहयोगमा काठमाण्डौमा तालिमको आयोजना गरिएको हो।
तालिममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू र सवारी चालकसहित २५ जनाभन्दा बढी सहभागी रहेका थिए। सहभागीहरूलाई लक्षित गरी हाइब्रिड सवारीसाधन प्रविधिसम्बन्धी विशेष प्राविधिक तालिम प्रदान गरिएको नाइमाले बताएको छ। यो तालिमबाट उनीहरूले मेकानिकल, सुरक्षा र मर्मतसम्भारका विषयमा महत्वपूर्ण ज्ञान तथा प्रायोगिक सीप हासिल गरेको नाइमाको विज्ञप्तिमा उल्लेख छ।
यसअघि उनीहरु गत चैत महिनामा लक्ष्मी ह्युण्डाइमा आयोजित विद्युतीय सवारीसाधन संयन्त्रसम्बन्धी तीन दिने तालिममा पनि सहभागि भएका थिए। साथै, हाइब्रिड सवारीसाधन संयन्त्रमा केन्द्रित ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा सहभागी भई नीतिगत तथा प्राविधिक विषयमा थप जानकारी हासिल गरेका थिए। विद्युतीयदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञानलाई चरणबद्ध रूपमा जोड्दै सहभागीहरूको समग्र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो तालिम शृङ्खला सञ्चालन गरिएको नाइमाले बताएको छ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल ले प्राविधिक शिक्षा तथा विद्यार्थीहरूको सीप विकासमा यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गर्दै माग र उपलब्ध स्रोतका आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए। सीटीइभिटीका उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने कामलाई प्राथमिकतामा राखिने र आवश्यक प्रक्रिया अघि बढाइने बताए। उनले नेपालको विविध भौगोलिक अवस्थाका कारण यस्ता सवारीसाधनको सान्दर्भिकता बढ्दै गएको बताए।
यस्तै, बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले नाइमाको प्रयासको प्रशंसा गर्दै दक्ष जनशक्ति उत्पादनका लागि अटो उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्ने धारणा राखे। उनले हालै सम्पन्न तीनदिने विद्युतीय सवारीसाधन तालिमले विद्यार्थीहरूलाई व्यावहारिक सिकाइमा सहयोग पुगेको बताए।
वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हासउका निर्देशक सूर्यांश वैद्यले यस्ता व्यावहारिक तालिमहरूले सहभागीहरूको पेशागत विकासमा टेवा पुर्याउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे। उनले हाइब्रिड सवारीसाधनलाई उन्नत प्रविधिको रूपमा उल्लेख गर्दै यसबारे प्राविधिक ज्ञान र सीपको विकास अझ आवश्यक रहेको बताए।
नाइमाले आफ्ना प्राविधिक समितिहरू तथा सचिवालयमार्फत क्षमता अभिवृद्धि र प्राविधिक संवादलाई प्राथमिकतामा राख्दै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकासका लागि यस्ता पहलहरू निरन्तर अघि बढाउँदै आएको जनाएको छ।
अर्थ चाैतारी ।