काठमाण्डौ । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाण्डौमा सुरु भएको छ । आज र भोलि गरी २ दिनसम्म चल्ने महाधिवेशनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।
महाधिवेशन राष्ट्रिय सभागृहमा भइरहेको छ । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकालेका थिए ।
केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाण्डौमा आएका छन् । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् । केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ ।
यस्तै ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । विभिन्न सङ्घ, सङ्गठन तथा संस्थाका पत्रकारहरू प्रभातफेरी कार्यक्रममा सहभागी थिए ।
‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर आज यो दिवस मनाइँदै छ ।
अर्थ चाैतारी ।