काठमाण्डौ । नियमित जाँच तथा परीक्षणले रोग पत्ता मात्रै लाग्दैन, जनचेतना फैलाउने कार्य समेत हुदा दक्ष जनशक्तिद्वारा गरिने स्वास्थ्य शिविर निकै नै फलदायी हुन्छ। यही कुरालाई मध्य नजर गर्दै यस काठमाण्डौ कंकेश्वरीस्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र-१९ ले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। १९ नम्बर वडा कार्यालय, एम डी एम फ्रान्स (विश्वका चिकित्सकहरू) र काठमाण्डौ महानगरपालिका (स्वास्थ्य विभाग) सँग सहकार्य गरेर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र-१९ ले पहिलो शिविर सम्पन्न गरेको हो।

“फोहरको दिगो व्यवस्थापनका लागी स्वस्थ सफाइका बाहकहरू”परियोजना अन्तर्गत यस शिविर आयोजना गरिएको थियो। एम डी एम फ्रान्स (विश्वका चिकित्सकहरू) ले परियोजनालाई आर्थिक तथा प्राविधिक रूपमा सहयोग गर्दै आएको छ। उक्त स्वास्थ्य शिविरमा मेडिकल डाक्टरद्वारा १६० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो भने साथसाथै नि शुल्क ब्लड ग्रुपिंग, सुगर टेस्ट, इसीजी, भिडियो एक्स-रे आदिको नि सुविधा रहेको थियो। शिविरमा बिरामीहरूलाई आवश्यक औषधी पनि निःशुल्क वितरण गरिएको थियो। शिविरमा स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, वडा -१९, काठमाण्डौ महानगरपालिका, एम डी एम फ्रान्स, संयुक्त सफाइ जागरणका कर्मचारीहरूको सहभागिता थियो।

मेड्सा डु मोण्ड – फ्रान्सको आर्थिक तथा प्राविधिक सहयोगमा काठमाण्डौ महानगरपालिका वडा नम्बर १९, कंकेश्वरीस्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र-१९ बाट सरसफाईकर्मीहरुले तथा समुदायका मानिसहरूले लाभ लिइरहेका छन्। यस प्रवर्द्धन केन्द्रमा मेडिकल डाक्टर, स्टाफ नर्स, ल्याब असिस्टेन्ट, हेल्थ असिस्टेन्ट र आइपिसी सपोर्ट स्टाफको मार्फत गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गरिन्छ। महानगर स्तरीय आवश्यक सुविधा सम्पन्न भएको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र १९ पहिलो हो । फोहर मैलामा संलग्न रहेका सरसफाईकर्मीहरुलाई पेसाजन्य स्वास्थ्य सेवा र टिडी खोप समेत नि शुल्क प्रदान गरिन्छ।
अर्थ चाैतारी ।